कोहलपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले गोली चलायो

  Sampatti News Online

May 9, 2024

बाँके । बाँकेको कोहलपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार प्रहरीलाई देखेर लागूऔषध कारोबारी भाग्न खोज्दा लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले गोली चलाएको हो ।

गोली प्रहार गरी प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको डिएसपी डाँगीले बताउनुभयो ।

परियारको तिघ्रामा गोली लागेको छ भने उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै, सोही ठाउँका २७ वर्षीय शरणबहादुर कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ खुला कारागार नजिक लागूऔषधको ठुलो कारोबार भइरहेको भन्ने सूचना पाएपछि पुगेको प्रहरी टोलीलाई देखेर कारोबारी भाग्न खोजेका थिए ।

प्रहरीलाई देखेर भाग्न लागेका कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरी कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका लागूऔषध कारोबारीका साथबाट प्रहरीले ११४ दशमलव २५ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकाले प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:May 9, 2024