सप्तरीमा नेपाल बैंकका गार्डको हत्या

  Sampatti News Online

May 9, 2024

राजविराज । अज्ञात समूहले सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंकको शाखा कार्यालयका सुरक्षागार्डको हत्या गरेको छ । बिहीबार बिहान करिब ७ बजे सुरक्षा गार्ड ५६ वर्षीय परशुराम फुयाँल सुतेकै ठाउँमा मृत फेला परेका थिए । गार्डको कोठा अबेरसम्म नखुलेपछि बैंकका कर्मचारीले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । वरिपरि रगतका टाटा पनि देखिएपछि अनुसन्धानकै क्रममा फुयाँलको हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अन्सार लुटपाट गर्ने उद्देश्यले आएकाहरुले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिन्छ । हत्या घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

विगत ८ वर्षदेखि बैंकमा गार्ड रहेका सप्तकोशी नगरपालिका– २ बस्ने मृतक फुयाँलका श्रीमती २ छोरा र २ छोरी छन् । उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए ।

प्रकाशित मिति:May 9, 2024