सत्ता पक्षबाट जिम्मेवारपूर्ण कुरा आएन, झारा टार्ने समिति मानिन्न

  Sampatti News Online

May 19, 2024

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाएका हुन् ।सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्नेमा विवाद हुँदा संसदीय छानबिन समिति गठनको टीओआरमा सत्तापक्ष र विपक्षीबीच विमति देखिएको छ । 

सुप्रिम, सूर्यदर्शनसहितका सहकारीमा रकम अपचलनमा रविको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिन समितिमा उनको नाम उल्लेख गर्नुपर्ने अडान लिएको छ । 

‘संसदीय छानबिन समिति बनाउने भन्नेकुरामा सहमति नै छ । त्यसका लागि कार्यादेशसहितको तयारी गरेर जाने भन्नेकुरा भइरहेको छ । सत्तापक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो । संघीय संसदमा देशभरमा जे विषय उठेको छ । त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारो टार्ने रुपमा प्रस्तुत हुनुभएकाले कुरा मिलिरहेको छैन’ लेखकले भने । उनले समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने भन्ने कुरा उल्लेख गरेर जानुपर्ने आफूहरूको धारणा रहेको बताए ।

प्रकाशित मिति:May 19, 2024