भारतीय ब्याट्सम्यान विराट कोहलीको अर्को कीर्तिमान खोसियो बाबर आजम

  Sampatti News Online

May 23, 2024

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय ब्याट्सम्यान विराट कोहलीको कीर्तिमान तोडिएको छ। पाकिस्तान र आयरल्यान्डबिचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीका कप्तान बाबर आजमले विराटको कीर्तिमान तोडेका हुन्।

उक्त खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो । जितसँगै पाकिस्तानले तीन खेलको शृङ्खला पनि २–१ ले आफ्नो पक्षमा पारेको थियो । उक्त खेलपछि बाबर आजम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ५० वा त्योभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आमजले ३९औँ पटक ५० वा त्योभन्दा बढी रन बनाएका हुन् । कोहलीले भने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३८ पटक ५० वा त्योभन्दा बढी रन बनाएका छन् । यो सूचिमा भारतीय टोलीका कप्तान रोहित शर्मा तेस्रो स्थानमा छन् ।

रोहित शर्माले हालसम्म ३४ पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० वा त्योभन्दा बढी रन बनाएका छन् । आयरल्यान्डविरुद्धको तेस्रो खेलमा बाबर आजमले टोलीका लागि ७५ रनको योगदान गरे । उनले केवल ४२ बलको सामना गरी पाँच छक्का र ६ वटा चौका पनि हिर्काएका थिए ।

प्रकाशित मिति:May 23, 2024