गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

  Sampatti News Online

June 10, 2024

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न प्रदेश सभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले विश्वासको मत नपाएको खण्डमा गण्डकीमा पनि उपधारा ५ बमोजिमको सरकार गठन हुनेछ।

गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ। तर, कांग्रेससँग २७ सिटमात्रै छ। कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भएपनि बहुमत पुग्ने देखिदैन्। गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद रहेका छन्। गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत पाउने आश गरेका छन्। 

विश्वासको मत प्राप्त गर्ने अवस्था देखिए राप्रपा पनि सकारात्मक देखिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई औपचारिक पत्र पठाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत दिन आग्रह गरेका छन्। नेपाल समाजवादीका नेता समेत रहेका गाेरखाका प्रदेश सांसद फडिन्द्र देवकोटाले विश्वासको मत दिने मुख्यमन्त्री पाण्डेको आश छ। उनले माओवादीको चुनाव चिन्ह लिएर चुनाव जितेका छन्। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई औपचारिक रुपमै आग्रह गरिएको बताए।

“असार १ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु जिम्मेवार ढंगले प्रस्तुत हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ”, उनले भने।

प्रकाशित मिति:June 10, 2024