सहकारी घोटालाः ७ जना आरोपित कारागार चलान

  Sampatti News Online

June 10, 2024

काठमाडौँ । कावासोतीस्थित छिपछिपे सहकारी संस्थामा भएको १६ करोड ५८ लाख घोटालाका आरोपित ७ जनालाई सोमवार कारागार चलान गरिएको छ । अदालतको आदेशपछि प्रहरी हिरासतमा रहेका उनीहरूलाई भरतपुर कारागार चलान गरेको हो । पूर्वी नवलपरासी प्रहरीका अनुसार अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राख्न पर्ने ७ जनालाई सोमवार बिहान भरतपुर कारागार चलान गरिएको हो ।

पूर्वी नवलपरासीमा कारागार नभएका कारण उनीहरूलाई छिमेकी जिल्ला चितवनको भरतपुर कारागार पठाइएको हो । जिल्ला विभाजनपछि पूर्वी नवलपरासीमा कारागार छैन । यहाँका थुनुवालाई नजिकको चितवन कारागार पठाउने गरिएको छ ।

न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सहकारीको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवस्थापक योगेन्द्र पाण्डे, नगेन्द्र बहादुर रिमाल, संजिवकुमार महतो, कृष्ण प्रसाद ज्ञवाली, ढुण्डिराज गौतम, विकास सापकोटा र शिवलाल लामिछानेलाई कारागार चलान गरिएको हो ।

उनीहरू रकम हिनामिनाको आरोपमा २ महिना अघि पक्राउ परेका हुन् ।

प्रकाशित मिति:June 10, 2024