भारतललाई अफगान विदेशमन्त्रीद्धारा धन्यवाद ज्ञापन

  Sampatti News

September 14, 2020

काठमाडौँ । अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हानिफ अतमरले भारतले अफगानिस्तानको शान्तिका लागि ऐक्यबद्धता जनाएकोमा भारतलाई धन्यवाद दिएका छन् ।
अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानीका बीचमा कतारको दोहामा शान्ति वार्ता शुरु भएको छ ।

शनिबार शुरु भएको सो वार्तालाई सफल बनाउन भारतीय विदेशमन्त्री एस जयशंकरले पनि शुभकामना दिँदै भारत सधैँ अफगानिस्तानको शान्तिको पक्षमा रहेको बताए ।
उनले व्यक्त गर्नुभएको सो शुभकामनाका लागि अफगानिस्तानले पनि धन्यवाद ज्ञापन गरेको हो । अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनिफ अतमरले अफगानिस्तानको शान्ति र विकासका पक्षमा रहेकोमा भारतलाई ट्वीटरमार्फत धन्यवाद दिएका हुन् ।

शनिबार दोहामा शुरु भएको अफगान शान्ति वार्ताको उद्घाटनका लागि भएको कार्यक्रममा भारतीय विदेशमन्त्री पनि भिडियोमार्फत सहभागी भएका थिए । त्यस क्रममा उनले भारत अफगानिस्तानमा दिगो शान्ति, विकास र त्यहाँका अल्पसंख्यक महिला र अन्य नागरिकको हितको रक्षाको पक्षमा रहेको धारणा राखेका थिए ।

अमेरिकाको मध्यस्थतामा कतारको राजधानी दोहामा अफगानिस्तान सरकार र तालिबानीहरुका बीचमा शनिबारबाट वार्ता शुरु भएको छ । सो वार्ता सकारात्मक रुपमा अघि बढिरहेको कतारको दोहामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति:September 14, 2020