अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

  Sampatti News

October 3, 2020

काठमाडौँ । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना हुनुभएको छ । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँलाई शुक्रबार राती वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उहाँलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उहाँका विभिन्न औषधी मिश्रित खोप दिइएको चिकित्सकहरुले जनाएका छन् ।

उहाँको उपचारमा संलग्न डा। कनलीले जारी गरेको विज्ञप्तिका अनुसार सावधानी अपनाउनका लागि रेजेनेरोन पोलीक्लोनल एन्टिबडी मिश्रणको ८ ग्राम’ खुवाएको हो । उक्त औषधी शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको उहाँको भनाई छ ।

राष्ट्रपति कार्यालयबाट अस्पतालतर्फ प्रस्थान गर्ने क्रममा उहाँ मास्क लगाएको अवस्थामा देखिनु भएको थियो । उहाँ राष्ट्रपति कार्यालयबाट अस्पतालसम्म हेलिकोप्टरमा जानु भएको हो । अस्पताल जानुअघि उहाँले दिएको भिडियो सन्देशमा आफुले आराम नै महसुस गरिरहेको तर थप सुरक्षित र सुनिश्चित हुन अस्पताल जान लागेको बताउनु भएको छ ।

अस्पताल पुगेपछि पहिलो ट्वीट गर्दै शुक्रबार राती उहाँले लेख्नुभएको छ, “मलाई राम्रो भइरहेको छ, सवैलाई धन्यवाद छ । माया छ ।” अमेरिकामा राष्ट्रपति चयनका लागि निर्वाचन हुन गइरहेका बेलामा उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति ट्रम्प सङ्क्रमित हुनुभएको हो । उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको शुक्रबार दिउसो एक बजे सार्वजनिक गर्नुभएको थियो ।

उहाँ बिहीबार मध्याह्न एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित हुनुभएको बताइएको छ । उहाँसँगै उहाँकी पत्नी मेलानिया पनि सङ्क्रमित हुुनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामन्य नै रहेको भिडियोमार्फत् जानकारी दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले आफू अस्पताल भित्रै रहेपनि काम भने गरिरहने योजना बनाउनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उहाँले उपराष्ट्रपतिलाई कार्यवाहकको जिम्मेबारी दिनुभएको छैन ।
उहाँ अहिले ७४ वर्षको हुनु भएको छ । यो उमेर समूह कोरोना सङ्क्रमितहरुका लागि अत्यन्त खतरापूर्ण उमेर समूह मानिन्छ ।

विश्वमै सवैभन्दा धेरै मानिसहरु कोरोनाभाइरसबाट सङ्क्रमितहरु रहेको मुलुक अमेरिकामा राष्ट्रप्रमुखलाई नै सङ्क्रमण भएपछि थप त्रास फैलिएको छ । अमेरिकामा अहिलेसम्म दुई लाख पाँच हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति:October 3, 2020