मिर्गौला रोगी थापाको उपचारका लागि जुट्यो २ लाख ३७ हजार सहयोग

  Sampatti News

October 9, 2020

काठमाडौँ । दुवै मिर्गौला फेल भएकी गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाकी ४० वर्षीया शर्मिला परियारको उपचारका लागि रु दुई लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ । अर्थाभावका कारण उपचार गर्न समस्यामा परेकी उहाँको उपचारका लागि ‘शर्मिला परियार बचाऊ अभियान’ नै सञ्चालन गरी सामाजिक सञ्जालमार्फत रकम जम्मा गरी पीडित परिवारलाई प्रदान गरिएको हो ।

अभियानमार्फत कूल रु दुई लाख ३७ हजार १८४ रकम सङ्कलन भएको सामाजिक अभियानकर्मी बालकृष्ण परियारले जानकारी दिए । “सङ्कलन भएको सबै रकम काठमाडौँस्थित शिक्षण अस्पतालमा पुगेर बिहीबार बिरामी श्रीमान् कृष्णबहादुर परियारलाई उपलब्ध गराइएको होे”, उनले भने, “थोरै प्रयासले कसैको जीवन बचाउन सकिन्छ भने सहयोग गर्नैपर्छ भन्ने लागेकाले म आफैले अभियानको थालनी गरेको हुँ ।”

अभियानकर्मी परियारले सामाजिक सञ्जालबाटै पीडितको दुःख थाहा पाएपछि आर्थिक सङ्कलनका लागि अभियान थालेको जानकारी दिए । “फेसबुक चलाउँदै गर्दा पीडितका श्रीमान्ले श्रीमतीको उपचारका लागि सामाजिक सञ्जालमा बिलौना गरेको देखे”, उनले भने, “गरिखाने ट्याक्सी बिक्री गरिसक्दासमेत श्रीमतीको उपचारका लागि पैसा नपुगेको भन्ने थाहा पाएपछि आफ्नो सम्पर्कमा रहेका साथीभाइलाई हारगुहार गरेर सो रकम जुटाएर पीडितलाई उपलब्ध गराइएको हो ।”

उनले जापान, साउदी अरेबिया र मलेशियालगायत देशमा रहेका साथीहरुबाट करिब रु ७० हजार सहयोग जुटाएको र बाँकी रकम नेपालभित्रबाट जुटाएको बताउनुभयो । “सहयोगी मनहरुले जसले जतिसक्नुभयो उति नै सहयोग गरे”, अभियानकर्मी परियारले भन्नुभयो, “जसरी पनि पीडितको उपचारका लागि मैले खर्च जुटाउनुपर्छ भन्ने मनैदेखि लागेर सहयोग जुटाउन थालेको थिएँ ।”

परियारको उपचारमा अहिलेसम्मका करिब रु १० लाखभन्दा बढी खर्च भइसकेको पीडितका श्रीमान् कृष्णबहादुरले बताए । “दैनिक रु छ÷सात हजारभन्दा बढी रकम खर्च हुन्छ”, उनले भने, “साउनदेखि यता अस्पतामा भर्ना गरेर उपचार गरिरहेको छु, घरको आर्थिक अवस्था राम्रो नभएकाले पनि श्रीमतीको उपचार गर्न सक्ने अवस्था नै नभएपछि सबैलाई गुहार्नुपरेको छ ।” उनी मुटु रोगीसमेत छन् ।

अहिलेको मुटुको उपचार भइरहेको छ, पीडितका श्रीमान कृष्णबहादुरले भने, “मुटुको उपचार निको भएपछि मिर्गौला प्रत्यारोपण गर्ने वा के गर्ने भन्ने निश्चित हुन्छ भनेर चिकित्सकले भनेका छन् । तर उपचारका लागि अझै पैसा पुगेको छैन, कहाँबाट जुटाउने खै ।” शर्मिलाको यसअघि पनि दुईपटक मुटुमा पानी जमेपछि शल्यक्रियासमेत गरिसकिएको उनले बताए। “जसोतसो गरेर एउटा ट्याक्सी किनेर चलाउँदै परिवार पाल्दै आएको थिएँ”, कृष्णबहादुरले भने, “अहिले श्रीमतीको उपचारमा समस्या परेपछि त्यो पनि बेचेर उपचार गरिरहेको छु, अझै रकम पुग्दैन अब कहाँ कसलाई भनुँ ।” आफूसँग कुनै उपाय नभएपछि सहयोगीले जुटाइदिएको रकमले अहिले श्रीमतीका लागि उपचार खर्च टार्दै आएको उनले बताए।

प्रकाशित मिति:October 9, 2020