पहिरोले विद्यालय विस्थापित

  Sampatti News

October 18, 2020

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविको भवन भत्किएपछि विद्यालय विस्थापित भएको छ । भूमिगत पहिरोका कारण विद्यालयका भवन भत्किएपछि पठनपाठन सञ्चालन र प्रशासनिक गतिविधि प्रभावित भएको छ । कोरोनाको जोखिमका कारण वैकल्पिक माध्यमबाट सिकाइ क्रियाकलाप सञ्चालन गरिएको थियो ।

भवन भत्किएपछि विद्यालयमा सिकाइ क्रियाकलाप सञ्चालन गर्न नसकिएको प्रधानअध्यापक धु्रवबहादुर भण्डारीले बताए । “भवनको समस्याले विद्यार्थीलाई चार समूह बनाएर टोलटोलमा शिक्षक पुगेर सिकाइ क्रियाकलाप सञ्चालन गरिएको छ”, उनले भने, “विद्यालय खुलीहाल्यो भने भवनमा पठनपाठन गर्न सक्ने अवस्था छैन ।”

गत असार अन्तिम हप्ताको भीषण वर्षाका कारण विद्यालय रहेको ढाडटोलमा जमिन धाँजा फाटेर चिराचिरा परेको थियो । भूमिगत पहिरोले जमिन विस्तारै चिराचिरा पर्ने र धाँजा फाट्ने क्रमसँगै भवन भत्किएको हो । विद्यालयमा भएका २० कोठे कक्षाकोठा भवन र छ शौचालयका भवन भत्किएका छन् । जमिनको सतह नमिलेपछि चिराचिरा परेर पर्खाल भत्किने, छानो खस्ने गरेको छ । कुनै पनि भवन बस्न योग्य छैनन् । ढाँडटोलका करिब ७५ घरधुरी पनि सो पहिरोका कारण जोखिममा परेका छन् । बाहिर नदेखिए पनि भित्रभित्रै जमिन बगेर बस्ती नै बस्नका लागि अयोग्य भएको स्थानीयवासीले बताएका छन् ।

कक्षा १० सम्मको पठनपाठन हुने किसानी माविमा २२५ विद्यार्थी छन् । पुरानो ठाउँको भवन, खेलमैदान पहिरोले छियाछिया बनाएपछि धारापानीकै किमको बोट भन्ने ठाउँमा विद्यालय स्थानान्तरण र भवन पुनःनिर्माणका लागि जग्गा जुटाएको ब्यवस्थापन समितिका अध्यक्ष किरन थापाले बताए । चक्रबहादुर थापा र पूर्णबहादुर थापाले पाँच रोपनी जग्गा विद्यालयलाई निःशुल्क उपलब्ध गराएका छन् । मूल सडकदेखि जग्गामा पुग्ने ठाउँसम्म सहायक सडक पु¥याउन स्थानीय होमबहादुर थापा, रामबहादुर थापा, दानबहादुर थापा, प्रकाश पुर्जा, खिमदल थापा, सूर्य थापा, चन्द्रबहादुर थापा, अर्जुन थापा र राजन थापाले जग्गा दिने घोषणा गरेका छन् ।

चार मिटर फकाकिलो बाटो बनाउन जग्गा दिएका हुन् । गाउँपालिकाले विद्यालय भवन स्थानान्तरण र पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन
(डिपिआर) तयार पारेको जनाएको छ । डिपिआरअनुसार भवन पुनःनिर्माणका लागि आर्थिक स्रोतको खोजी गरिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

नमूना आवासीय विद्यालयको छात्रावास भवन

समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र धवलागिरि गाउँपालिका–७ शिवाङमा नमूना आवासीय विद्यालय सञ्चालन गर्न छात्रावास भवन निर्माण शुरु भएको छ । भौगोलिकरूपमा विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खानेबस्ने सुविधासहित अध्ययनको व्यवस्था गराउन सामाजिक विकास मन्त्रालयको अवधारणाअनुसार आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो ।

अन्नपूर्णको शिख र धवलागिरिको हेम माविमा आवासीय विद्यालय सञ्चालनका लागि प्रदेश सरकार र पालिकाको साझेदारीमा छात्रावास भवन निर्माण शुरु भएको हो । दुईवटै विद्यालयमा गत वर्ष रु ६०÷६० लाख पठाएको सामाजिक विकास मन्त्रालयले यस वर्ष रु दुई÷दुई करोड विनियोजन गरेको छ । प्रदेश सरकारले पठाएको रु ६० लाख र गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख गरी शिख माविको छात्रावास भवन बनाउन रु एक करोड १० लाखको ठेक्का आह्वान भएको थियो । रु ८१ लाख ४० हजार ९७१ मा गत जेठमा सम्झौता गरेको उत्तरगङ्गा निर्माण सेवाले दशकोठे भवनको ढलान गरिसकेको अन्नपूर्ण गाउँपालिकाका इञ्जीनियर ईश्वरबहादुर भण्डारीले बताए ।

गत हप्ता पालिकाका जनप्रतिनिधि, प्राविधिक र विद्यालयका प्रतिनिधिको रोहवरमा ठेकेदारले भवन ढलान गरेका थिए । नमूनाको रुपमा ढलानमा प्रयोग भएका सिमेन्ट, बालुवा र गिट्टीको गुणस्तरसमेत परीक्षण गर्न लागिएको इञ्जीनियर भण्डारीले बताए ।

हेम माविको १० कोठे छात्रावास भवन निर्माणका लागि रु एक करोड एक लाख ९० हजार ८८६ मा ठेक्का पाएको माछापुच्छ«े निर्माण सेवाले काम शुरु गरेको धवलागिरि गाउँपालिकाका इञ्जीनियर सोबिन जिसीले बताए । सो भवन निर्माणका लागि रु एक करोड २० लाख ७८ हजार ५२२ लागत अनुमान गरिएको थियो । छात्रावासमा अपायक पर्ने घर टाढा भएका विद्यार्थीलाई खानेबस्ने सुविधाको व्यवस्था हुनेछ ।

यस वर्ष प्रदेश सरकारले विनियोजन गरेको रु दुई करोड, गाउँपालिकाको रु ३० लाख र समुदायको रु ३० लाख बजेटमा आवासीय विद्यालयको थप पूर्वाधार निर्माणको तयारी भएको शिख माविका प्रअ केदार कार्कीले बताउनुभयो । कक्षा १२ सम्मको पठनपाठन हुने शिख माविमा हाल १८९ विद्यार्थी छन् । आवासीय सुविधा भएपछि घर टाढा भएका विद्यार्थीलाई सुविधा पुग्नुका साथै कम विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई गाभ्न सकिने प्रअ कार्कीले बताए ।

प्रकाशित मिति:October 18, 2020