मिर्गौलापीडितका लागि उठ्यो साढे छ लाख सहयोग

  Sampatti News

October 18, 2020

तनहुँ । दुवै मिर्गौला फेल भएर डायलासिस गराइरहेका तनहुँको व्यास नगरपालिका–१४ निवासी सन्तोष रानामगरलाई अमेरिकाबाट रु साढे ६ लाख सहयोग जुटेको छ । अमेरिकाको टेक्सास र न्यूयोर्कमा रहेका भीम थापा, भुवन आले, आशिष थापा र कुलदीप रानामगरको पहलमा रु छ लाख ४५ हजार २१० सहयोग जुटेको हो ।

उक्त रकम शनिबार पीडित रानालाई हस्तान्तरण गरिएको छ । रकम सङ्कलनकर्ता भीम थापाका बुवा ताराबहादुर थापा र सोही वडाका अध्यक्ष काजीमान श्रेष्ठले पीडितको घरमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । अमेरिकामा रहेका नेपालीहरुले सङ्कलन गरेको रकमले पीडितको उपचारमा सहयोग पुग्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

यसअगाडि स्थानीय युवाले गठन गरेको सन्तोष बचाउ अभियानमार्फत रानाको उपचारका लागि रु छ लाख ५८ हजार ६२४ सहयोग सङ्कलन भएको थियो । उक्त रकम पनि पीडितलाई हस्तान्तरण गरिसकिएको छ । सन्तोष बचाउ अभियानका संयोजक युवराज आलेले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली, जिल्लाभित्रकै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग रकम सङ्कलन गरिएको जानकारी दिए ।

मिर्गौलापीडित रानाले देश तथा विदेशबाट उपचारका लागि सहयोग गर्ने सबै सहयोगदाताप्रति आभार व्यक्त गर्दै अब बाँच्ने आशा पलाएको बताए । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले डायलासिस गर्दै आएका छन् । “मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पथ्र्यो, देश तथा विदेशबाट सहयोग जुटाइदिने सबैप्रति आभारी छु”, उनले भने, “अब बाँच्ने आशा पलायो ।”

प्रकाशित मिति:October 18, 2020