न्यादी फिदी जलविद्युत्तको लागि यी चार बैंकले दिए ३ अर्ब बढी रकम

  Sampatti News

October 18, 2020

काठमाडौं । न्यादी फिदी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । लमजुङमा निर्माण हुन लागेको उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा चार वाणिज्य बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

आयोजनामा माछापुच्छ्रे सहित बैंक अफ काठमाडौं, सानिमा बैंक र सिभिल बैंकको ३ अर्ब ८ करोड ऋण लगानी रहनेछ । यसका लागि गत बिहीवार प्रवद्र्धक कम्पनी नर्थ समिट हाइड्रो र बैंकहरूबीच वित्तीय व्यवस्थापन सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले उक्त आयोजनामा लगानी गर्नेगरी वित्तीय व्यवस्थापन सम्झौता भएको जानकारी दिए ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापा र कम्पनीका प्रबन्ध निर्देशक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन् । अन्य बैंकहरूका प्रतिनिधि भने भर्चुअल माध्यमबाट सहभागी थिए ।

नर्थ समिट हाइड्रोले लमजुङमा २१ दशमलव ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्दै छ । त्यसमा रू। ४ अर्ब ११ करोड लगानी लाग्ने अनुमान छ । उक्त बैंकहरूले त्यसको ७५ प्रतिशत रकम ऋण लगानी गर्ने भएका हुन् । बाँकी रहेको २५ प्रतिशत लगानी भने शेयरधनीमार्फत स्वपूँजीको रूपमा जुटाउने कम्पनीको योजना छ, जसबाट रू। १ अर्ब ३ करोड लगानी जुट्नेछ । आयोजना निर्माणका लागि लगानी जुटाउने बाहेक अन्य तयारी लगभग सम्पन्न भएको कम्पनीले बताएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद सम्झौता समेत भइसकेको छ । कम्पनीले प्राधिकरणसँग हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसाको दरमा पीपीए गरेको छ । साथै, विद्युत् विकास विभाग, उद्योग विभाग, वन तथा वातावरण मन्त्रालयबाट गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा भइसकेको छ । अहिले आयोजनाको ‘प्रि–कन्स्ट्रक्सन’ अन्तर्गत आयोजनास्थलमा सडक पहुँच पु¥याउने काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक बालेन्द्र क्षेत्रीले बताए । आयोजनास्थलमा सडकको पहुँच पुगेपछि निर्माण शुरू गरिने उनको भनाइ छ । चालू आर्थिक वर्षमै निर्माण थालिने उनले बताए । साथै, निर्माण शुरू गरेको ३ वर्षभित्र आयोजना सम्पन्न हुने उनको भनाइ छ । उक्त आयोजनामा २ हजार ३०० मिटर सुरुङ १ हजार ४३३ मिटर पाइपलाइन रहने बताइएको छ ।

प्रकाशित मिति:October 18, 2020