सचिब सरुवा सच्चाइयो,संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा एकनारायण अर्याल

  Sampatti News

October 18, 2020

काठमाडौँ । गत बिहीबार भएको सचिवहरुको सरुवा पुनः सच्याइएको छ ।

नयाँ मन्त्रीहरूले शपथ खाएकै दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले १० जना सचिवको सरुवा गरेको थियो । जसमा तीन सचिवको सरुवा पुनः सच्चाईएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालालाई पुनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएकोमा सच्याएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने सामान्य प्रशासन मन्त्रालयमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल आएका छन् । यसअघि अर्यालको उनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको थियो । सचिव यादवले यसअघि आफै सामान्य प्रशासन मन्त्रालयबाट सरुवा मागेर गएका थिए ।

यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको युवा तथा खेलकुद मन्त्रालयमा भएको थियो । अहिले सच्याएर सार्वजनिक खरिद अनुगमन कार्यालय पुर्‍याइएको छ । सार्वजनिक खरिदमा सरुवा भएका रामप्रसाद थपलिया यथास्थानमै रहेको छ ।

त्यसैगरी यसअघि जल तथा ऊर्जा आयोगमा सरुवा भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा कार्यकारी सचिवमा सरुवा गरिएको छ । ट्रस्टका सागरकुमार राईलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा ल्याइएको छ ।

सरुवा भएका नयाँ सुचीअनुसार सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय(सिँचाइ), उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयको सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय(सिँचाइ)का सचिव रबिन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ ।

प्रकाशित मिति:October 18, 2020