कलाकार दिपकराज गिरी एकवर्ष चलचित्र नखेल्ने, किन गरे यस्तो निर्णय?

  Sampatti News

November 11, 2020

काठमाडौँ । पछिल्लो समय छक्क पञ्जाबाट चर्चाको शिखरमा पुगेर कलाकार दीपकराज गिरी फार्म–हाउस खोल्ने तयारीमा जुटेका छन् । गिरीले चलचित्र निर्माणको काम १ वर्षलाई थाँती राख्दै चन्द्रागिरीमा कृषि फार्म शुरु गर्न लागेका छन् । दीपक कोरोना संक्रमणको त्रासका कारण स्क्रिप्ट लेख्दालेख्दै छोडेर फार्म–हाउस खोल्ने तयारी थालेको बताएका छन् ।

काठमाडौंको चन्दागीरिस्थित दहचोकमा रहेको सोही जग्गा पुर्खेयौली रहेको बताएका छन् । “हजुरबाले जोडेको १० रोपनी जग्गा छ, त्यसबाहेक केही जग्गा म थप्दैछु,” दीपक भन्छन्, “फार्म हाउस निर्माणका लागि चारदेखि पाँच कारोड रुपैयाँ लगानी लाग्ने मैले प्रारम्भिक अनुमान गरेको छु ।”

उनको फार्म–हाउसमा पैसा तिरेर बस्ने सुविधादेखि कृषि फार्महरु पनि खोल्ने योजना रहेको छ । कृषिसँग सम्बन्धित विभिन्न व्यवसाय गर्ने सोच रहेको बताउँदै दीपक तर कृषि भित्र पनि कुन–कुन क्षेत्रमा व्यवसायिक रुपमा हात हाल्ने त्यो भने विस्तारै निर्धारण हुँदै जाने बताए ।

“सकेसम्म गाउँका अधिकांश आमा दिदीबहिनीहरुलाई रोजगारी दिनसकौं भन्ने मेरो उद्देश्य छ,” “मैले चलचित्र कर्ममा रहेर जेजति आर्जन गरेको छु । यो सबै आफ्नै गाउँमा खर्च गर्ने योजना बनाएको छु । स्थानीयस्तरमा रोजगार पनि सिर्जना होस् र कृषि कर्म पनि होस् भन्ने मेरो चाहना हो ।”उनले भने ।

कोरोनाको महामारीले हरेक व्यक्तिलाई आफैले आफूलाई चिन्न र चिनाउन मद्दत गरेको भन्दै उनी आफ्नो क्षमता, लगाव र सम्भावना भएका क्षेत्रमा लाग्नु पर्ने समय आएको बताउँछन् । अहिले आफू रहेको क्षेत्रमा जवरस्ती म यही काम गर्छु भनेर लाग्नुभन्दा पनि सहज र सम्भावना भएका क्षेत्रमा काम गर्नुपर्ने अवस्था कोभिड–१९ ले सिर्जना गरेको बताए ।

“चलचित्र क्षेत्र अब कहिले पहिलाको अवस्थामा फर्किने र अब कसरी कुन बिन्दुबाट कहिले सुरु हुन्छ भन्ने निश्चित छैन । यस्तो अन्योलमा जवरजस्ती यही क्षेत्रमा काम गर्नुभन्दा फार्म हाउस निर्माण गरौं भनेर यतातर्फ लागेको छु,” उनी भन्छन्, “अहिले सरकारले कृषि क्षेत्रमा केही सहुलियत दिएर उक्त कर्ममा लाग्न प्रेरित पनि गरिरहेको छ । त्यसैले म यही नै गर्छु भनेर भन्नुभन्दा पनि के सहज छ त्यसमा सबैले ध्यान दिनुपर्छ भन्ने मेरो बुझाइ छ । घाँटी हेरेर हाड निल्ने बेला अहिले आएको छ । कोभिड र लकडाउन आफ्नो बारेमा सोच्ने र आफ्नो कामबारे बिचार गर्ने अवसर पनि हो । गाउँघरमा बाउबाजेले गर्दै आएको खेती किसानी कर्ममा लगानी गरेर आधुनिक प्रविधिलाई अवलम्बन गर्दै अगाडि बढ्नु पर्छ ।”

प्रकाशित मिति:November 11, 2020