गृह सचिव न्यौपानेको सरुवा हुने,गृह सचिवमा एकनारायण अर्याललाई भित्र्याइने

  Sampatti News

January 28, 2021

काठमाडौँ । सरकारले गृहसहित केही मन्त्रालयमा सचिव सरुवाको गृहकार्य थालेको छ । स्रोतका अनुसार गृहसचिव महेश्वर न्यौपानेले मन्त्रालयलाई चलायमान बनाउन नसक्दा सरकारले सचिब न्यौपाने लाई निर्वाचन आयोग पठाउने तयारी छ ।
गृहसचिव न्यौपानेको सरुवा हुने भए पछि गृहमन्त्रालयमा सरुवा हुन सचिवहरूको दौड शुरू भएको छ।

मुख्यसचिव पछि गृहसचिवलाई निकै महत्त्वपूर्ण मानिन्छ ।

स्रोतका अनुसार गृहसचिवका लागि सूर्य गौतम र यादव कोइराला दौडमा रहेको देखिए पनि सबै हिसाबले सचिब एकनारायण अर्याल नै उपयुक्त पात्र रहेको बताइएको छ।

अर्याल संघीय मामिला तथा सामान्य प्रशासन, कोइराला स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गौतम खरिद अनुगमन कार्यालयका सचिव हुन् ।

प्रतिनिधि सभा विघटनपछि देशव्यापी आन्दोलन भइरहेको र चुनावको मिति समेत घोषणा भएको अवस्थामा गृहसचिवको भूमिका निकै महत्त्वपूर्ण हुन्छ ।

स्रोतका अनुसार लामो समय गृह प्रशासनमा बिताएका एकनारायण अर्याल गृहसचिव बन्ने सम्भावना बढेर गएको छ।

यसअघि काठमाडौं महानरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका अर्याललाई सरकारले एक वर्षअगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको थियो ।

निजामती सेवामा निर्भीक, इमान्दार र निर्णय क्षमताको सबालमा अग्रपंक्तिमा अर्यालको नाम आउँछ ।

अर्यालले काठमाडौं महानगरपालिकामा रहँदा अनावश्यक भत्ता, सुविधा र खर्च नियन्त्रण एवं कटौती गरेर राज्य कोषको रकम बचाएका थिए ।

अनलाइनबाट राजस्व संकलन, घरको नक्साको डिजिटालाइजेसन, विभागीय प्रमुखहरूसँग कार्यसम्पादन करारजस्ता प्रमुख काम उनले महागरपालिकामा रहँदा गरे । साथै, काठमाडौं महानगरपालिकाको आफ्नै भवन निर्माण प्रक्रिया पनि अर्यालले अन्तिम चरणमा पुर्‍याएका थिए ।

सचिव हुनुअघि अर्याल भारतको कोलकत्तामा नेपाली महावाणिज्यदूत थिए ।

महावाणिज्यदूत छँदा उनले शुरू गरेको इलेक्ट्रिक कार्गो ट्र्याकिङ सिस्टमको चौतर्फी प्रशंसा भएको थियो ।

कोभिड महामारीमा यो सिस्टम निकै प्रभावकारी रहेको अधिकारीहरू बताउँछन् ।

अर्याल गृह मन्त्रालय मातहत रहेर लामो समय सेवा गरेका व्यक्ति हुन् । उनले आफ्नो करियरको धेरै समय गृह प्रशासनमा बिताए ।

जहाँ–जहाँ सीडीओ भएर गए त्यहाँ अर्यालले केही न केही सुधार र सकरात्मक परिवर्तनका काम गरेका जानकारहरु बताउछ्न।

गृह प्रशासन बुझेको अनुभवी थोरै कर्मचारीमा अर्याल पर्छन् ।

२०७२ सालको भूकम्पका बेला उनी काठमाडौंको सीडीओ थिए ।

भूकम्पका बेला कालोबजारी गर्ने उच्च घरानाका व्यापारीको गोदाममा छापा मारेर लुकाएर राखेको खाद्य सामग्री जफत गर्नुका साथै व्यापारीमाथि मुद्दा चलाए ।

व्यापक दबाबका बावजुद कालोबजारीमा संलग्न उच्च घरानाका व्यापारीमाथि कारवाही अघि बढाएपछि अर्यालको प्रशंसा चुलिएको थियो ।

अर्याल अनियमितता नगर्ने, घूस र ढिलासुस्तीमा तल्लीन कर्मचारीमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, फाइल अड्काएर दुःख नदिने, निर्णय क्षमता भएका निर्भीक एवं इमान्दार प्रशासकका रूपमा परिचित छन् ।

प्रकाशित मिति:January 28, 2021