चितवनको नाराबाजीबारे निष्पक्ष छानविन गर्न नेता नेपालको माग

  Sampatti News

November 22, 2020

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् ।

सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको उनको भनाई छ ।

उनले विज्ञप्ती जारी गर्दै ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।’

नेकपा स्थायी कमिटी सदस्य पाण्डेले शनिबार गृहजिल्ला चितवनको राप्ती नगर पार्टीको बैठकमा बोलिरहँदा केही नेताहरुले नाराबाजी गर्दै लखेटेका थिए ।

प्रकाशित मिति:November 22, 2020