मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा-चार दलबाट १८ मन्त्री बन्दै

  Sampatti News

September 29, 2021

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेकाे देउवा सरकारले चार दलबाट यी १८ जना मन्त्री बनाउने भएकाे छ ।

१८ जना मन्त्री बनाउने टुङ्गो लागेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाकाे सरकार मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेकाे हाे ।

मन्त्रिपरिषद् विस्तारको तयारी सुरूभएसँगै देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्रीको नाम उपलब्ध गराउन भनेका छन् ।

असोजको पहिलो साता नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग देउवाले मन्त्री बन्नेको लिस्ट मागेका थिए । प्रचण्ड, माधव र उपेन्द्र मन्त्रीको टुंगो लगाउन आन्तरिक तयारीमा जुटेका छन् ।

काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाकाे पार्टिभित्रबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नाे पक्षबाट सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसीको नाम प्रस्ताव गरेकाे बझिएकाे छ । पौडेल समूहले तीनजना मन्त्री पाउने अपेक्षाका साथ पाँच जनाको नाम सिफारिस गरेकाे बताइएकाे छ ।

यता कृष्णप्रसाद सिटौला पक्षले भने उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जनाको नाम पठाउने स्राेतले बताएकाे छ ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले थप मन्त्रीकाे नाम पठाउने बिषयमा आन्तरिक छलफल थालेको पाइएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार मन्त्री छनोटको जिम्मेवारी पाएका प्रचण्डले आन्तरिक छलफल लागेका छन् ।

आज बुधबार बस्ने नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले मन्त्रीको नाम तय गर्ने भएको छ । माओवादी नेता हरिबोल गजुरेलले स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री देउवालाई बुझाउने बताए । मंगलबारका लागि तय गरिएको स्थायी कमिटीको बैठक स्थगित भएर बुधबार सरेको थियो ।

माओवादी केन्द्रले जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्रीका रूपमा सरकारमा पठाइसकेको छ । अब माओवादीले चार मन्त्री पाउने छ । जस्मा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किराती मध्ये दुईजना मन्त्री बन्ने छन् । यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एकजना मन्त्री बन्ने सम्भावना छ ।

मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ ।

एमालेमा विद्रोह गरेर माधव नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादी पार्टीले ६ जना मन्त्री पाउने छ । जसमा विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बन्ने पक्का पक्की जस्ताे छ ।

जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई जिम्मा दिएको छ । नेतात्रयले मन्त्री बन्ने नेताहरूको नाम टुंगाइसकेको बताइएकाे छ ।

जसपाबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै भएकाे स्राेतकाे दावी छ ।

प्रकाशित मिति:September 29, 2021