उपमहानगर प्रमुखको घर अगाडि जनप्रतिनिधिले थुपारे फोहोर

  Sampatti News

October 31, 2021

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुखको घर अगाडी जनप्रतिनिधिले फोहोर थुपारेका छन् ।

नगर प्रमुखको घर अगाडि सोही पालिकाका जनप्रतिनिधिहरुले फोहोर थुपारेका हुन्।

वडाध्यक्षसहितका जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै उनको घर अगाडि फोहोर थुपारेका हुन्।

उपमहानगरले नगरभित्रको फोहोर व्यवस्थापन नगर्दा जनकपुरधाम उपमहानगरकै केही वडाध्यक्षहरु नगर प्रमुख साहको घर अगाडि फोहर थुपार्ने पुगेका छन्।

तिहार तथा छठ पर्व नजिकिए पनि डम्पिङ साइटको अभावमा उपमहानगरभित्रको फोहोर उठ्न सकेको छैन ।

जसले गर्दा जनप्रतिनिधिहरुले विरोधस्वरुप नगर प्रमुखकै घर अगाडि फोहोर थुपारेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका – १ का वडाध्यक्ष शत्रुघन साह, वडा नं. ४ का अध्यक्ष सुदर्शन सिंह र वडा नं. ७ का अध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरुको टोलीले फोहोर थुपारेका हुन्।

नगरका विभिन्न स्थानबाट ट्याक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफै ट्याक्टर चलाएर नगर प्रमुखको घरसम्म पुगेका थिए।

फोहोर व्यवस्थापनका लागि नगर प्रमुख साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्याक्टरसम्म उपलब्ध नगराएकोले विरोधस्वरुप नगर प्रमुखको घर अगाडि फोहोर थुपार्नुपरेको वडाध्यक्ष सुदर्शन सिंहले बताए।

जनकपुरधामकी उपप्रमुख रीताकुमारी झाले सरसफाइको जिम्मा आफूले माग्दा पनि मेयरले नदिएको गुनासो गरिन्।

प्रकाशित मिति:October 31, 2021