उद्योग, पर्यटन तथा वनमन्त्री पदमुक्त

  Sampatti News

November 16, 2021

काठमाडौँ-प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मन्त्री रायलाई मंगलबार पदमुक्त गरेका हुन् ।

उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार तत्कालका लागि मुख्यमन्त्री राउत आफैले सम्हालेका छन् ।

मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट मन्त्री बनेका रायलाई पदमुक्त गरेका हुन् ।

उनले यसअघि मन्त्री रायलाई राजीनामाका लागि निर्देशन दिएका थिए ।

तर राजीनामाका लागि आफूलाई पार्टीले भन्नुपर्ने अडान राख्दै रायले मुख्यमन्त्रीले माग गरेकै आधारमा राजीनामा नदिने अडान लिएका थिए ।

गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राउतले यसअघि सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सामेल गरिसकेका छन् ।

नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गर्न उनले मन्त्रालयको भागवण्डा मिलाउने उद्देश्यले मन्त्री रायको राजीनामा माग गरेका थिए ।

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीबाट प्रदेश सरकारमा सो पार्टीका संसदीय दलका नेता शत्रुधन महतो सामेल हुँदैछन् ।

उद्योग, पर्यटन तथा वनमन्त्री पदमुक्त

प्रकाशित मिति:November 16, 2021