उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति

  Sampatti News

November 30, 2021

चितवन-चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनुभएको छ ।

आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको थियो । मतदान सुरु भएपछि उम्मेदवारको सूची प्रकाशन गर्नु र प्रतिनिधिलाई वितरण आचारसंहिताविपरीत भएको भन्दै रावलले आपत्ति जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, “मतदान इलाकामा पार्टी निर्वाचन आचारसंहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु ।”

निर्वाचन आचारसंहिताविपरीतको कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने रावलको भनाइ छ ।

निर्वाचन आचारसंहिताविपरीतको गतिविधि रोक्नका लागि रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीसँग आग्रह गर्नुभएको छ ।

रावलइतर पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्यका उम्मेदवरको सूची प्रकाशन गर्दै ओली पक्ष बाहेककालाई मतदान गर्न सङ्केत प्रयोग गरेर वितरण गरेका हुन् ।

एमाले महाधिवेशन: १६ सय बढी मत खस्यो

चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ६०० भन्दा बढी मत खसेको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार अहिले बिहान ९ः३० बजेसम्ममा एक हजार ६५० खसिसकेको छ ।

नयाँ नेतृत्व चयनका लागि बिहान ४ बजेदेखि मतदान सुरु भएको थियो ।

मतदाता लाइनमा बस्ने बेलासम्म मतदान जारी रहने भन्दै दाहालले ११ बजेसम्म मतदान सकिने जानकारी दिनुभयो ।

महाधिवेशनमा दुई हजार १५३ जनाले मतदान गर्दैछन् ।

मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गर्दैछन् ।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।

प्रकाशित मिति:November 30, 2021