थापाले अलग्गै पार्टी खोल्ने

  Sampatti News

February 11, 2022

थापाले अलग्गै पार्टी खोल्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताउनुभएको छ ।

विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।

उहाँले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि नेतृत्वलाई सैद्धान्तिक र साङ्गठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेकाले नयाँ पार्टी खोल्ने धारणा राख्नुभयो ।

साथीहरुसँग परामर्श गरेर फागुनको पहिलो हप्तामा नै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने उद्घोष गर्दै नेता थापाले नयाँ पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोक्ने बताउनुभयो ।

उहाँले आफूले बोकेको विचारलाई अलपत्र पारेर नछाड्ने भन्दै पार्टीभित्र लाचार र अपमानित भएर बस्नुभन्दा अलग्गै पार्टी खोल्नेमा जोड दिनुभयो ।

स्नेह, सद्भाव देखाउने तर माग सम्बोधन गर्न नसक्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्पष्ट पारेको भन्दै नेता थापाले राजालाई साझा अभिभावक र संवैधानिक राजाका रुपमा हेर्न चाहेको बताउनुभयो ।

उहाँले एमसिसी आफैँमा आपत्तिजनक नरहेको र यसका विषयमा आएका प्रश्न र आशङ्का विषयमा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै आर्थिक सहयोग लिन सकिने एमसिसीबाट कुनै नोक्सानी नहुने धारणा राख्नुभयो ।

उहाँले यस विषयमा बढीभन्दा बढी राजनीतिक दललाई सहमति गराएर पास गर्नुपर्ने विचार व्यक्त गनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को वैकल्पिक शक्तिका रूपमा स्थापित भएको थियो।

पार्टी प्रजातन्त्र, संवैधानिक राजतन्त्र, राष्ट्रवाद र आर्थिक उदारवादको सिद्धान्तमा स्थापित भएको थियो ।

२०६३ मा राजतन्त्रको अन्त्य भएसँगै नेपाललाई २०७३ जेठ ४ गते धर्मनिरपेक्ष राज्य घोषित गरिएको थियो ।

पार्टीले धार्मिक स्वतन्त्रताको साथमा हिन्दू राज्यलाई समर्थन जनाएको छ र यसका लागि २०७३ चैत १६ मा संबिधान संशोधन प्रस्ताव दर्ता गरेको थियो।

हालै सम्पन्न महाधिबेशनमा कमल थापा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएका थिए । हाल राप्रपाबाट अलग भएर कमल थापा नयाँ पार्टी दर्ता गर्न लागिपरेका छन् ।

थापाले अलग्गै पार्टी खोल्ने

प्रकाशित मिति:February 11, 2022