सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ : प्रवक्ता डा महत

  Sampatti News

February 12, 2022

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताउनुभयो ।

अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।”

एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उहाँको तर्क छ ।

उहाँले थप्नुभयो, “एमसिसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको छ ।

नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो ।”

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन ।”

संसद्मा छलफल भए यस विषयमा निकास निस्कने उहाँको भनाइ छ । फरक प्रसङ्गमा बोल्दै उहाँले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताउनुभयो ।

पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उहाँले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ ।”

दलहरुले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उहाँले जानकारी दिनुभयो ।

फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उहाँको भनाइ थियो ।

प्रकाशित मिति:February 12, 2022