विदेशमा बस्ने नेपालीलाई परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह: नआत्तिनुहोस् तपाईहरुको साथमा नेपाल सरकार छ

  Sampatti News

April 8, 2020

मलाई परदेशमा रहनुभएका तपाईँहरुको अवस्थाबारे जानकारी छ । खाडी र जापान, दक्षिण कोरिया, मलेसिया लगायतका देशमा रहेका नियोग प्रमुखसँग नियमित कुराकानी गरेर मैले उहाँहरुमार्फत त्यहाँको अवस्थाबारे जानकारी लिइरहेको छु ।

खाडीका देश र मलेसिया हाम्रो प्रमुख श्रम गन्तव्य देशका राजदूतहरुलाई त्यहाँ रहेका नेपाली श्रमिकसँग नियमित सम्पर्कमा रहन सरकारले प्रष्ट निर्देशन दिएको छ।२४ घण्टे हटलाइनको व्यवस्था गर्न र कुनै पनि खालको समस्या श्रमिकलाई पर्छ भने आवश्यक सुविधाहरु उपलब्ध गराउनु भनेर भनेका छौं ।

लाखौंं श्रमिक रहका खाडीका देश र मलेसियामा अहिलेसम्म बहराइनमा तीन र यूएईमा चार नेपाली मात्र सङक्रमित भएका छन् । अरु श्रमिक सुरक्षित हुनुहुन्छ । सङ्क्रमितको अवस्था पनि सामान्य रहेको त्यहाँ रहेका नियोगले बताएका छन् । यो संकटका बेला सबै देशले आफ्नो नागरिक सरह विदेशी श्रमिकलाई पनि उपचार दिने व्यवस्था गरेका छन् । यो एक सुखद पक्ष हो ।

कतिपय ठाउँमा हाम्रा श्रमिकहरुले करार अवधि सकिएर, कहीँ भिसा सकिएर केही अप्ठेराहरु भोगिरहनुभएको छ । तर सम्बन्धित देशका सरकारहरुसँग हाम्रा दूतावासहरुले समन्वय गरेर भिसा र करारकै कारणले भोलि कुनै कानुनी झण्झट खेप्न नपर्ने र अहिलेको अवस्थामा त्यहाँ बस्न समस्या नहुने गरी समन्वय गरिरहेका छन् ।

कतिपय ठाउँमा जागिर खोसिने हो कि, जागिरबाट निकालिदिने पो हो कि भन्ने चिन्ता पनि परेको छ । तर यो संकट फैलनुमा श्रमिकको त कुनै हात छैन । श्रमिकका कारण कम्पनी संकटमा परेको त हैन, त्यसैले पनि श्रम कानुन अनुसार जागिरबाट जबरजस्ती यो संकटका बेला निकाल्न मिल्दैन । यो कुरामा दूतावासबाट समन्वय भैरहेको छ ।

यी क्षेत्रमा रहने श्रमिक साथीलाई भिसा र करारको अवधि सकियो भनेर नआत्तिन म आग्रह गर्छु । यस्तो संकटका बेला दूतावासहरुले यहाँहरुलाई आवश्यक सहयोग गर्नेछ । त्यहाँको सरकारले जारी गरेका आदेशहरु कडाइका साथ पालना गर्नुहोला । कहिलेकाहीँ यसो नगर्दा पनि कारबाहीमा परिन्छ । यस्तो संकटका बेला कतारबाट केही साथीहरु देश निकाला हुनु पर्‍यो । यो हाम्रो लागि राम्रो भएन ।

उहाँहरुले जानेर नजानेर निषेध गरिएका ठाउँमा जानुभयो या सूचनाको अभावले भयो । तर आवश्यक नियम पालना नहुँदा कानुनी कारबाहीमा पर्ने अवस्था भयो । त्यसैले अब त्यो नहोस् भन्नका निम्ति तपाईँ जहाँ हुनुहुन्छ, त्यस देशले जारी गरेका नियम पालना गर्नुहोला । अहिले यति गर्दागर्दै पनि तपाईँलाई समस्या पर्‍यो भने दूतावासले सहयोग गरिरहेका छन् ।

खाडी र मलेसियासँगै यो बेला भारतमा काम गर्ने नेपालीहरु पनि समस्यामा पर्नुभएको छ । नेपालीको सङ्ख्या थोरै होला । तर भारतीय मिडियाले ज्याला मजदुरी गर्नेहरु काम बन्द भएपछि लाम लागेर हिँडेरै घर फर्किन थालेको खबरहरु दिइरहेका छन् । तर बसहरु बन्द छन् र उहाँहरु बसपार्कमा लाखौंको सख्यामा लाम लागेको हामीले देखेका छौं । मेरो एउटै आग्रह छ, भातबाट आउने या अरु तेस्रो देशबाट आउने दाजुभाइ दिदीबहिनीहरुलाई अहिले जोखिम मोलेर घर फर्कन नखोज्नुहोस् ।

बाटोमा हामी कोही पनि सुरक्षित हुँदैनौं । बाटो हिँड्दाहिँड्दै झन सङ्क्रमणको जोखिम बढी हुन्छ । अहिले नेपालमा देखिएका सबै सङ्क्रमणहरु प्रायः यात्राको दौरानमा, या त ट्रान्जिटमा या त जहाजमै भएको अवस्था हो ।

तपाईँहरुको पीडा सरकारलाई थाहा छ । एकदमै सङ्कट परेका बेला सरकारले केही न केही उपया त खोज्छ । तर अहिले हतार गरेर, जोखिम मोलेर नेपाल नै फर्कनुभन्दा पनि जो जो जहाँ छौं त्यहाँ नै दुःखकष्ट गरेर सुरक्षित साथ बसौं ।

नजिकको दूतावासमा सम्पर्क गर्नुहोस् र सक्दो सहयोग दूतावासले पनि पुर्‍याउने छन् । अवस्था अलिकति अनकूल हुनसाथ तपाईँहरु देश फर्कने बाटोको बारेमा पनि हामी सोच्ने छौं । तपाईँहरुको पीडासँग नेपाल सरकार साथमा छ । यो खतराको समयमा जोखिम मोल्ने काम चाहिँ नर्गनुहोस् भन्ने मेरो बिनम्र अनुरोध छ ।

कोरोनाको त्रास बेहोरीरहेका विदेशमा बस्ने नेपालीहरुको उद्दारमा सरकार के गरीरहेको छ भन्ने सन्र्दभमा सम्पत्ति न्यूजले परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीसँगको कुराकानीमा आधारीत

प्रकाशित मिति:April 8, 2020