विरगञ्जमा थप तीनजनामा कोरोना पुष्टि

  Sampatti News

April 12, 2020

वीरगञ्ज । वीरगञ्जमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका भारतीय नागरिकमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीका अनुसार भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएपछि परीक्षणका लागि टेकु पठाइएको थियो ।
वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।
संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

मार्च ४ तारिकमा फर्कने टिकट लएका उनीहरु लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् ।
घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैँ नारायणी अस्पतालमा पुगेका थिए ।

प्रकाशित मिति:April 12, 2020