निर्वाचनको बागडोर अध्यक्ष ओली संग

  Sampatti News Online

August 12, 2022

काठमाडौं । नेकपा एमालेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको बागडोर अध्यक्ष केपी शर्मा ओलीले आफैसंग राखेका छन्। ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ। सचिवालय बैठकले ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएका छन् ।

निर्वाचन परिचालन समितिमा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष/महासचिव र विभागका सचिव रहनेछ। त्यस्तै, बैठकले निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी गठन गरेका छन्। सचिवलालय बैठक ८ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।

उनका अनुसार घोषणापत्र मस्यौदा समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन्स भने समितिको सदस्यमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। बैठकमा चुनावी गठबन्धनका विषयमा अहिले छलफल नभएको बताइएको छ। उपमहासचिव गुरुङले आगामी चुनावमा गठबन्धन गर्नेबारे पार्टीमा कुनै छलफल नभएको बताए। ‘हामीले आज गठबन्धन आदिइत्यादीबारे कुनै छलफल गरेको छैन,’ उनले भने, ‘निर्वाचनबारे गरेको निर्णय दुईवटा मात्रै हो।’

थपिए ४ केन्द्रीय सदस्य

एमालेले थप ४ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका छन्। सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्य मनोनित गरिएको उपमहासचिव गुरुङले बताए। एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ। उनी नेपाली कांग्रेसका महासमिति सदस्य त्यागेर एमाले प्रवेश गरेका थिए।

त्यस्तै, बैठकले रामदायल मण्डललाई मधेस प्रदेशको सह–इन्चार्जमा चयन गरेको छ। एमालेले सरोज यादवलाई महोत्तरी, श्रवण यादवलाई धनुषा र कृष्ण थापालाई कास्की इन्चार्ज तोकेको छ।

यसैबीच एमालेले एघारवटा विभागको सचिव चयन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति समितिको सचिव सुन्दर भुसाल पर्वत,कृषि तथा पशुपंक्षी विकास सचिवमा बिमल शर्मा, पुस्ताकालय तथा अभिलेख समितिको सचिवमा सुरज अधिकारी, पर्यटन तथा नागरिक उड्ययन विभागको सचिवमा घनेन्द्र श्रेष्ठ, युवा तथा खेलकुद विभागको सचिवम मेघराज पौडेल, भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने, भौतिक व्यवस्था तथा यातायात विभागको सचिवमा एसपी शर्मा, गरिबी निवारण तथा सहकारी विभगको सचिवमा सुरज ढकाल, विज्ञान तथा प्रविधि विभागको सचिवमा सञ्जीव रोकाया, सामाजिक सुरक्षा विभागको सचिवमा पुस्कर खाती, सहकारी विकास विभागको सचिवमा गजेन्द्र थपलिया चयन भएका छन्।

प्रकाशित मिति:August 12, 2022