कान्ति बाल अस्पतालको ओपिडी टिकट अनलाइनबाट लिन सकिने

  Sampatti News

June 12, 2020

काठमाडौँ । कान्ति बाल अस्पतालको टिकट अनलाईनबाटै काट्न सकिने भएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले अनलाइनबाट ओपिडीको टिकट काटेर सेवा लिन पाउने सुविधा विस्तार गरेको छ ।

शुक्रबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अनलाइन टिकटिङ सेवाको उद्घाटन गरेका हुन् ।

एन्ड्रोइड मोवाइलमा ‘कान्ति चिल्ड्रेन्स हस्पिटल’ नामक एप्स डाउनलोड गरी अनलाइन सेवा मार्फत टिकट बुक गर्न सकिने अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले बताए ।

उनले भने, ‘हाललाई एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोरबाट कान्ति चिल्ड्रेन्स हस्पिटल नामक एप्स डाउनलोड गरी सेवा लिन सक्ने छन् । अब केही समयपछि हामी आइएसओ स्टोर र अस्पतालको वेभसाइट कान्ति चिल्ड्रेन हस्पिटल डट जिओभि डट एनपी मार्फत टिकट बुक गर्न मिल्ने व्यवस्था गरिरहेका छौँ।’

अनलाइनमार्फत ओपिडी टिकट लिएकाहरुले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पैसा तिरेको स्वीकृत गराइ सेवा लिन सक्नेछन् ।

यस्तै ओपिडी टिकटको दर ५० रुपैयाँ कायम गरेको छ भने अनलाइन दर्ता शुल्क पहिलो पटकलाई थप ३० रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ।

प्रकाशित मिति:June 12, 2020