बालेनलाई टुकुचा विवाद सल्ट्याउन थपिँदै छ चुनौती

  Sampatti News Online

October 19, 2022

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई टुकुचा उत्खननको विवाद सल्ट्याउनको लागी चुनौती थपिएको छ ।

टुकुचा वरपर चार मिटर कायम गर्ने गरी खुला रूपमा बग्न दिने महानगरको योजनामा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दा उत्खनन कार्य रोकिएको छ ।

पहिले उत्खनन गरिएको ठाउँ दुर्गन्धित बनेको छ भने जमिन भासिँदै गएको छ ।

महानगरको अभियानअन्तर्गत उत्खननका क्रममा १२ देखि १५ फिट गहिरो खाल्डो खनिएको थियो । उत्खनन गरिएको क्षेत्र आसपास दुर्गन्ध फैलिएको स्थानीयको गुनासो छ । त्यस्तै फुटपाथमा हिँड्ने पैदल यात्रुका लागि दुर्घटनाको जोखिम समेत बढेको छ ।

अदालतले टुकुचालाई जस्ताको तस्तै छोड्न आदेश जारी गरेकाले तत्काल केही पनि काम गर्न नसकिने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

हात्तीसारस्थित जय नेपाल हलको कम्पाउन्डमा करिब १२ फिट गहिरो खाल्डो खनेर टुकुचा उत्खनन गरिएको थियो । सो क्षेत्रको जमिन पनि भासिँदै गएको छ ।

टुकुचामाथि बनेका घरहरूलाई भत्काएर निकास दिने भन्दै महानगरले उत्खनन थाले पनि अदालतको आदेशपछि अभियान स्थगित भएको छ ।

महानगरले विभिन्न क्षेत्रमा टुकुचा उत्खननका लागि डोजर चलाएपछि घरधनीहरूले अदालतमा रिट दायर गरेका थिए । असोज २ गते सो रिटमा अदालतले तत्काल टुकुचामाथि बनेका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

टुकुचामाथि पर्ने २१ घरधनीले महानगरलाई विपक्षी बनाएर अदालत पुगेका थिए । रिट निवेदकहरूले वैध रूपमा नै जग्गाजमिन खरिद गरी संरचना खडा गरेको हुँदा ती संरचनाहरू नभत्काउन माग गरेका थिए ।

प्रारम्भिक सुनुवाइपछि अदालतबाट टुकुचा खोलामाथि रहेका संरचना तत्काल नहटाउन न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

गत बुधवार सुनुवाइ हुने भनिएको रिटमा पेसी स्थगित भएको थियो । मंगलबार पुनः सुनुवाइको लागि पेसी तोकिएतापनि सार्वजनिक बिदा भएको कारणले सुनुवाइ भएन । अर्को पेसी तोकिएपछि मात्र टुकुचाको विवादमाथि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने टुङ्गो लाग्नेछ ।

टुकुचा नक्सामा नदेखिएको र घरधनीले कानुनी प्रक्रिया पुर्‍याएर संरचना निर्माण गरेकाले बालेनलाई विवाद सल्ट्याउन थप चुनौती हो ।

महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले उत्खनन क्षेत्र अझै भासिन नदिन बुधवारदेखि नै पर्खाल लगाउन सुरु गरिने जानकारी दिए । उनले घरमुनि टुकुचा प्रकट भइसकेको अवस्थामा आफूहरूलाई काम गर्न कुनै चुनौती नथपिएको पनि बताए ।

खोलामाथि घर बनाउने कानुन कुनै पनि ठाउँमा नभएको पनि उनले दाबी गरे ।

महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डे अदालतले जे भन्छ सोहीबमोजिम काम अगाडि बढाउने बताउँछन् ।

महानगरले निरीक्षण अनुगमनसमेत गरेको छैन । सुनुवाइ अघि बढाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको एउटा प्रतिवेदनको अध्ययन आवश्यक परेको थियो ।

महानगरले उत्खनन थालेपछि १२५ वर्षअघि नै व्यवस्थित सुरुङ बनाएर टुकुचा जमिनमुनि बग्ने बनाइएको तथ्य खुलेको थियो ।

टुकुचामाथि कसरी घरहरू बने भन्ने विषयमा पनि भूमि व्यवस्था मन्त्रालयले अध्ययनसमेत गरेको थियो ।

त्यस्तै, पुरातत्त्व विभागले पनि अध्ययन गर्दा टुकुचालाई मौलिक शैलीमै राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।

सहरी विकास मन्त्रालयको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनका आधारमा महानगरले टुकुचामाथि ५८१ कित्ता जग्गामा घर तथा भवनहरू निर्माण भएको खुलाएको थियो ।

साउन १२ गते महानगरले ३५ दिने सूचना जारी गर्दै टुकुचा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउन अल्टिमेटम जारी गरेको थियो ।

टुकुचा खोला नारायणहिटी राजदरबार, जय नेपाल हल, न्यू प्लाजा, पुतलीसडक, कमलादी क्षेत्रस्थित काठमाडौँ प्लाजा, प्रदर्शनीमार्ग हुँदै थापाथलीस्थित वाग्मतीमा मिसिन्छ ।

टुकुचा कतै देखिन्छ त कतै जमिनमुनि हुँदै बग्छ । महानगरको टोलीले टुकुचा व्यवस्थापन गर्न थप अनुसन्धान पनि अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति:October 19, 2022