अर्थतन्त्रलाई संकटबाट जोगाउन उत्पादनमा जोड दिनुपर्ने अर्थविद्हरुको भनाई

  Sampatti News Online

November 4, 2022

आयात प्रतिबन्धका कारण राजस्व संकलनमा प्रभावित बनेको छ : राजस्व सचिव दंगा

काठमाडौं । नेपालको अर्थतन्त्र संकटबाट जोगाउनका लागि उत्पादनमा जोड दिनुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् । बिहीबार राजधानीमा आयोजित तराई विकास तथा सञ्चार केन्द्र नेपालले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका लागि सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक कार्यक्रममा बोल्दै अर्थविद्हरुले सो कुरा बताएका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विश्वका अधिकांश राष्ट्रहरु आर्थिक संकटमा फसिरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । केही समय अघि मात्र छिमेकी राष्ट्र श्रीलंकको अर्थतन्त्र जिरोमा झरेको थियो । जसको कारण श्रीलंकाका जनता आक्रोशित बनेर राष्ट्रपतिका विरुद्ध आक्रोशित बन्न पुग्दा श्रीलंकाली राष्ट्रपतिले देशै छाडेर भाग्नुपरेको थियो ।
पछिल्लो समय नेपालको अर्थतन्त्र धराशयी बनेको विभिन्न घटनाहरु पुष्टि गर्दै आइरहेको छ । नेपालमा वर्षेनी व्यापार घाटा बढिरहेको र विदेशी मुद्राको सञ्चिती घटिरहेको कारण नेपालको अर्थतन्त्र पनि संकटमा फस्ने अनुमान अर्थ विश्लेषकहरुले गर्न थालेको छन् । यो कति सत्य हो त रु के नेपालको अर्थतन्त्र संकटको घडीमा पुगिसकेको हो ? भन्ने विषय राष्ट्रिय चासोको विषय बनेको छ । यसै सन्दर्भमा तराई विकास तथा सञ्चार केन्द्र नेपालले नेपाल सरकारको अर्थसचिव रामेश्वर दंगालको प्रमुख आतिथ्यतामा एक बृहत छलफल कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा आयात प्रतिबन्धका कारण राजस्व संकलनमा प्रभावित बनेको बताए । राजस्व सचिव दंगालले भारतले निर्यातमा लगाएको प्रतिबन्धका कारण नेपालमा चिनीको तस्करी बढेको बताएका छन् ।
‘अहिले भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा चिनीको चोरी पैठारी बढेको हो कि भन्ने हाम्रो तथ्यांक, बजारमा चिनीको उपलब्धतालाई हेरेर त्यस्तो देखिन्छ’ उनले भने, ‘बजारमा चिनीसँगै लत्ता कपडाको पनि चोरी पैठारी बढेको देखिन्छ ।’
खुला सीमानाका कारण यो समस्या देखिएको उनको भनाइ छ । यसले राजस्वमा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।
यस्तै राजस्व घट्नुमा गाडी, १५० सिसीभन्दा माथिका मोटरसाइकल, मदिरा र निश्चित रकमभन्दा बढीको मोबाइल आयातमा लगाएको प्रतिबन्धले पनि राजस्वमा प्रभाव परेको उनले दावी गरे ।
तरलता अभाव छैन, लगानीयोग्य रकम अभाव भएको होः श्रेष्ठ


कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अहिले तरलता अभाव नभएको तर लगानी योग्य रकमको अभाव भने रहेको बताएका छन् ।
नेपालमा आयातका लागि पैसा बाहिर जाँदा तरलता अभाव जस्तो देखिएको उनको भनाइ थियो । विश्व अर्थतन्त्रमा परेको प्रभाव, कोरोना महामारी लगायतका घटनाले यस्तो भएको उनले बताए ।
अहिले विदेशी विनिमय सञ्चिति घटेको भए पनि पहिला जस्तो डराउनु पर्ने अवस्था नरहेको बताए । उनले सञ्चिति बोर्डर लाइनमा रहेको बताए ।
विदेशी विनिमय सञ्चिति नबढे तरलता सहज नहुने उनले बताए । अहिले ब्याज १२ प्रतिशत औषतमा रहेको बताउँदै उनले २०७४ मा १२।४७ प्रतिशत पुगेको स्मरण गराए । त्यसैले यो अहिलेसम्मकै धेरै नरहेको उनको तर्क थियो ।
नेपालमा घर जग्गा, सेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा लगानी बढेको उनको भनाइ थियो । नेपालमा भएको लगानी कहाँ गएको छ भनेर खोज्न आवश्यक रहेको उनले बताए । नेपालको उत्पादन बिक्री नहुने र भारतबाट बढी आयाता भइरहेको बताए ।

पुँजीबजार र ऋणपत्रलाई स्थिर बनाउनु पर्छः उपाध्याय


बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले आगामी दिनमा पुँजीबजार, ऋण पत्रलाई स्थिर बनाउनु पर्ने, भेन्चर क्यापिटललाई बजारमा ल्याउनु बताएका छन् । उनले यी क्षेत्रबाट पैसा संकलन गरेर सरकारलाई चाहिने स्रोतलाई बलियो बनाउने सकिने बताए ।
उनले कुनै बेला बैंकहरुले घर घरमा गएर कर्जा दिएको भए पनि अहिले त्यो अवस्था नरहेको बताए ।
‘त्यो बेला बजारमा सहज रुपमा तरलता प्रवाह भएको थियो, डिमान्ड कम थियो आपूर्ति निकैबढी थियो । त्यो बेला हामीले उद्योगी व्यवसायीको घर घरमा गएर कम लागतमा कर्जा दिएको हो’ उनले भने ‘त्यो बेला हामीले त्यस्तो चुनौतीमा पनि काम गरेको हो । आज त्यो अवस्था छैन ।’ अहिले बैंकमा कर्जा लिन आउँदा पनि दिन नसक्ने अवस्था नभएको उनले बताए ।
असारभन्दा असोजमा साढे ३ प्रतिशत आधारदर बढेको उनले बताए । १० बर्षको इतिहासमा कुनै न कुनै समयमा तरलता अभाव भइरहेको उनको भनाइ थियो । अहिले रिसोर्स मिस म्याचमा समस्या भएको उनको तर्क छ । बजारमा कर्जा माग भएको बेला तरलता अभाव हुने गरेको उनी बताउँछन् । अध्यक्ष उपाध्यायले अहिले हरेक क्षेत्रमा लागत बढ्दै जाँदा आगामी दिनमा बैंकहरुले ब्याजदर घटाउने दिन आउन सक्ने बताए । ‘कस्ट मात्रै बढाउने, ब्याजदर हामीले तलमाथि नगर्ने ? बैंकको एनपीएल (खराब कर्जा) बढ्ने अवस्थामा छ’ उनले भने ‘यो चुनौती बैंकिङ क्षेत्रमा आएको छ ।’ अहिलेको अर्थ व्यवस्थामा बैंकको प्रभाव धेरै रहेको उनले बताए । बजेटको आकार हाराहारीमा नै बैंकको बिजनेस रहेको उनको भनाइ छ ।
राष्ट्र बैंकले विदेशबाट कोष ल्याउन सहयोग गर्नुपर्छः उपेन्द्र पौडेल


नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले अहिले बैंकिङ प्रणालिमा देखिएको तरलता अभाव हटाउन राष्ट्र बैंकले विदेशबाट फन्ड ल्याउन सहयोग गर्नु पर्ने बताएका छन् । अध्यक्ष पौडेलले राष्ट्र बैंकले बाहिरबाट फन्ड ल्याउन सहयोग गरे क्रमिकरुपमा तरलता सहज बन्दै जाने धारणा राखे ।
अध्यक्ष पौडेलले वैदेशिक मुद्रा बढाउन बिप्रेषणमा मात्रै भर पर्नुभन्दा पनि निर्यातमा जोड दिनुपर्ने बताए । त्यसको गर्न सकिए विदेशी विनिमय सञ्चिति बढ्ने र देश विकास हुन समय नलाग्ने उनको भनाइ छ ।
विश्व अर्थतन्त्रमा परेको प्रभावको असर नेपालमा पनि परेको उनले बताए । तर,श्रीलंकासँग नेपालको अर्थतन्त्रको तुलना गर्न आवश्यक नरहेको उनको भनाइ थियो । खाद्यान्न, उर्जा र सुरक्षा बलियो हुने हो भने नेपाल तत्काल श्रीलंकाको अवस्थामा नपुग्ने उनले बताए ।
सरकार र निजी क्षेत्रले कृषि क्षेत्रलाई मजबुत बनाएर लैजान आवश्यक रहेको बताउँदै उनले कृषिलाई माथि लैजान अनुदान आवश्यक र एक तहमा पुगेपछि घटाउन सकिने पौडेलले बताए । बैकिङ क्षेत्र बलियो बन्दै जाँदा नयाँ उद्यमी बढ्न थालेको र अबको दिनमा रोजगारी बढ्ने क्षेत्रमा बैंकको लागनी आवश्यक रहेको उनको धारणा थियो ।
बजेटसम्बन्धी पूर्ण रिपोर्टिङ हुनुपर्छः अर्थविद् अधिकारी


अर्थविद् डा. चन्द्रमणि अधिकारीले पत्रकारहरुले सरकारले ल्याउने बजेट सम्बन्धी पूर्ण रिपोर्टिङ्ग गर्नुपर्ने बताए । उनले भने ‘बजेट भाषणको सुरुका दिनमा रिपोटिङ्ग र अन्तरक्रिया गर्ने गरेको भएपनि बजेट लागु भए नभएको भने विषयमा भने नहुने समस्या छ, त्यसले गर्दा बजेट तर्जुमा, प्रस्तुती र कार्यान्वयनको अवस्थाका विषय बाहिर ल्याउन सकेमात्र पारदर्शि हुन्छ ।’

भ्रष्टाचार न्यूनीकरणपछि मात्र मुलुकको समृद्धिः पण्डित


राजधानी दैनिकका सम्पादक सागर पण्डितले नीतिगत भ्रष्टाचार रोक्न सकेमात्र मुलुकले समृद्धि हाँसिल गर्ने बताए । नेपाल आर्थिक संकटमा फस्नुको मुख्य कारण भ्रष्टाचार, अनियतिता र सेटिङ्ग नै भएको टिप्पणी गरे ।
नेपालको बैदेशिक ऋण २० खर्बभन्दा बढिरहेपनि त्यसको उपलब्धी भने सन्तोषजनक नगरेको बताए । पछिल्लो समय राजनीतिक व्यक्तित्वहरु भ्रष्टाचारमा लिप्त भएका कारण त्यसलाई रोक्न व्यूरोक्रेसीले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । साथै भ्रष्टाचार न्यूनीकरणका लागि सबैलाई क्षेत्रलाई ध्यानाकर्षण समेत गराएका थिए ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालका सभापति गोविन्द प्रसाद चौलागाईंले मुलुकको अर्थतन्त्र संकटतर्फ धकेलिइरहेकाले दुर्घटना हुनबाट जोगाउनुपर्ने तर्क गरे । उनले केही समय अघि मात्र श्रीलंकाको घटनालाई स्मरण गर्दै हामी पनि हाम्रो मुलुकको अर्थतन्त्र त्यो संकट उत्पन्न हुन नदिनका लागि सबै क्षेत्र सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम सञ्चालन अर्चना पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा अर्थविद्हरु आर्थिक विटमा कलम चलाउने पत्रकार र विभिन्न संघ संस्थाका जिम्मेवार पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा अर्थविद्हरु ।

प्रकाशित मिति:November 4, 2022