कञ्चनपुरमा एपिएफको विद्यालय सञ्चालनमा

  Sampatti News Online

May 7, 2024

कञ्चनपुर । कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल (एपिएफ) ले विद्यालय सञ्चालनमा ल्याएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ स्थित नेपाल एपिएफ विद्यालय झलारी सञ्चालनमा ल्याएको हो ।

आज एक कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विद्यालयको उद्घाटन गरे । सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कञ्चनपुरमा पहिलो पटक एपिएफ विद्यालय सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नं ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रले शैक्षिक सत्र २०८१ देखि पठनपाठन सुरु गरेको हो ।

कक्षा चार र कक्षा पाँचको पठनपाठन सुरु गरिएको विद्यालयमा एक सय पाँच जना विद्यार्थी भर्ना भएका छन् । झलारीमा एपिएफ विद्यालय विसं २०८० फागुन २ मा स्थापना भएको थियो । सुविधा सम्पन्न चारतले भवन निर्माण सम्पन्न भएपछि पठनपाठन थालिएको हो ।

सशस्त्र प्रहरी र सर्वसाधारणको समेत बालबालिकालाई सर्वसुलभ एवम् गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विद्यालय सञ्चालन गरिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बताए ।

“यसले गुणस्तरीय शिक्षाको पहुँचलाई सुनिश्चित गर्नेछ । मुलुकको माटो सुहाउँदो वैज्ञानिक शिक्षा प्रणालीलाई अनुसरण गर्दै रोजगारमूलक, व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिँदै अगाडि बढिरहेका छौँ,” उजले भने ।

सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रद्वार देशका विभिन्न चार ठाउँमा एपिएफ विद्यालय सञ्चालनमा छन् । २०६२ सालमा सशस्त्रले कीर्तिपुरबाट विद्यालय सञ्चालन सुरु गरेको थियो । सशस्त्र प्रहरीको विद्यालयप्रति अभिभावकको आशा धेरै भएकाले आशालाई निराश हुन नदिने गरी काम गर्न उहाँले शिक्षकहरूलाई अनुरोध गरे । रासस

प्रकाशित मिति:May 7, 2024