अन्तिम एक दिवसीय खेल नेपाल र यूएईबीच आज

  Sampatti News Online

November 18, 2022

काठमाडौँ। घरेलु टोली नेपालले तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज शुक्रबार युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रूपमा रहेको छ । किनकि तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

यस्तोमा अन्तिम खेलमा दुवै टोली जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा रहेका छन् ।  नेपाल आजको खेल जित्दै सिरिज २-१ ले जितेर इतिहास कायम गर्न चाहन्छ । नेपालले यस सिरिज जितेमा घरेलु भूमिमा नेपालले पहिलो पटक दुई देशीय सिरिज जित्ने छ ।

पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एक दिवसीय सिरिज घरेलु भूमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २-० ले हारेको थियो ।

यूएई पनि नेपाललाई घरेलु मैदानमा पराजित गरी सिरिज जित्न चाहन्छ । २०१९ मा नेपालले युएईलाई उसकै घरेलु भूमिमा पराजित गरी तीन खेलको सिरिज २-१ ले जितेको थियो ।

नेपाल र युएईबीचको यस खेल नवौँ खेल हो । हालसम्म खेलिएको ८ खेलमा युएईले ५ पटक जितेको छ । नेपालले तीन पटक आफ्नो बनाएको छ ।

प्रकाशित मिति:November 18, 2022