बस र ट्रक एक–आपसमा ठोक्किदा १७ जना घाइते

  Sampatti News Online

December 8, 2022

नवलपरासी । नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलानजिक आज बिहान ५ बजे बस र ट्रक एक–आपसमा ठोक्किएका थिए ।

बाग्लुङबाट भैरहवाका लागि छुटेको लु।१ख ४६७० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु।२ख ८९३ नम्बरको ट्रक एक–आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुशल रहेको पाठकले बताए ।

बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भएको छ । दुर्घटनामा परेका सवारी हटाएपछि मात्र दुईतर्फी रूपमा सवारी सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:December 8, 2022