नेपाल राष्ट्र बैंकले कमायो नाफा

  Sampatti News Online

December 30, 2022

काठमाडौं– नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको नाफामा १०३.३८ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा केन्द्रिय बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा ३१ अर्ब ५० करोड रुपैयाँले बढी नाफा कमाएको छ। 

गत आर्थिक वर्षमा बैंकले ६१ अर्ब ९८ करोड नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ३० अर्ब ४७ करोड रुपैयाँ थियो। गत आर्थिक वर्षमा राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ४५.११ प्रतिशतल वृद्धि भई ३५ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ रहेको छ। खुद सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९३.७२ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ५.६८ प्रतिशत र अन्य सञ्चालन आम्दानीको अंश ०.६० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। 

खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ५३.६४ प्रतिशतले वृद्धि भई ३३ अर्ब ५२ करोड २४ लाख लाख कायम भएको छ भने विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी ६.६९ प्रतिशतले वृद्धि भई २ अर्ब ३ करोड १२ लाख ३९ हजार रुपैयाँ रहेको छ। त्यसैगरी, अन्य आम्दानीमा ७६.६९ प्रतिशतले ह्रास आई रु. २१ करोड ६२ लाख लाख रुपैयाँ रहेको छ। 

आर्थिक वर्ष २०७८/७९ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ–हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ४७.४४ प्रतिशतले वृद्धि भई २८ अर्ब ४२ करोड ७ लाख ६८ हजार रुपैयाँ रहेको छ। यस्तो खुद आय अघिल्लो आर्थिक वर्षमा १९ अर्ब २७ करोड ६१ लाख ६२ हजार रहेको थियो। गत आर्थिक वर्षको विदेशी विनिमय पुनर्मूल्याङ्कन लाभ ३४ अर्ब ७८ करोड ९१ लाख ४८ हजार र सुन तथा चाँदी पुनर्मूल्याङ्कन हानी १ अर्ब २२ करोड ९२ लाख ४ हजार रुपैयाँ आय भएको छ।

प्रकाशित मिति:December 30, 2022