एकै दिन भेटिए २० जना दादुराकाे बिरामी 

  Sampatti News Online

January 15, 2023

काठमाडौं – बाँकेमा दादुरा रोगको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। बाँकेमा गत २४ घण्टामा २० जना दादुराका बिरामी भेटिएका छन्। यो सँगै जिल्लामा दादुराको बिरामीको संख्या १८० पुगेको छ। 

गत २४ घण्टामा नेपालगञ्जमा मात्र २० जना दादुराको बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ मा १, वडा नं ११ मा २, वडा नं १५ मा १, वडा नं १६ मा १५, र वडा नं १८ मा १ जना गरी २० बिरामी भेटिएका हुन्। 

हाल कुनै पनि बिरामी अस्पतालमा भर्ना भएका छैनन्। ४६ जना घरमै आइसोलेसनमा, ४५ जना उपचाररत छन्। गत २४ घण्टामा २५ जना बालबालिका निको भएका छन्। दादुराको प्रकोप नेपालगञ्जको १५ वटा वडामा फैलिएको छ। 

शनिबार १ हजार ९२६ बालिका र १ हजार ९१७ बालक गरी ३ हजार ८४४ जनालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको कार्यालयले जनाएको छ। यो सँगै बाँकेमा हालसम्म खोप लगाउने बालबालिकाको संख्या १६ हजार ६८९ पुगेको छ। अब ३ हजार ९९८ जनालाई खोप लगाउन बाँकी छ। 

आइतबार नेपालगञ्ज उपमहानगर पालिकाका वडा नं ३ र १६ गरी २ वटा वडाहरुमा २ वटा खोप केन्द्रहरु मार्फत ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई खोप लगाईँदैछ। माघी पर्वका कारण माघ १ गते २ वटा मात्र खोप केन्द्र सञ्चालन भएपनि माघ २ गतेबाट प्रभावित सबै वडाहरुमा बालबालिकाहरुलाई खोज्ने र खोप लगाउने कार्यलाई तिव्रता दिइने कार्यालयले जनाएको छ। 

बाँकेमा ४६ हजार ५ सय डोज खोप रहेकोमा हालसम्म १६ हजार ८ सय खोप खपत भएकाले २९ हजार ७ सय खोप बाँकी रहेको कार्यालयले जनाएको छ। 

प्रकाशित मिति:January 15, 2023