नेपालले मलेसियालाई १० विकेटले हरायो

  Sampatti News Online

February 28, 2023

यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले मंगलबार भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै लगातार चौथो खेलमा जित निकालेको छ।

नेपालले आगामी वर्ष श्रीलंकामा हुने विश्वकप खेलमा खेल्ने सम्भावना बलियो बनाएको हो। अन्तिम खेलमा आयोजक युएईलाई हराए नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा पुग्नेछ।

मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरमै विकेट नगुमाइ पार गर्‍यो। 

नेपालको जितमा दीपक बोहराले नटआउट ३८ रन र अर्जुन कुमालले नटआउट २१ रन जोडे। बोहराले २९ बलमा ८ चौका र कुमालले २५ बलमा ३ चौका हिर्काए।

त्यसअघि युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५.३ ओभरमा ७२ रनमा अलआउट गरेको थियो। 

मलेसियाका लागि अक्रम मालेकले २६ रन जोड्दा हाइरिल हरिसन र मोहमद साहिरले १२-१२ रन जोडे। 

मलेसियाका अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। 

बलिङमा नेपालका दिपेश कडेँलले ४ विकेट लिए। उनले १० ओभरमा ११ रन खर्चिए। आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहराले २ विकेट र सुवास भण्डारीले १ विकेट लिए। 

नेपालले आफ्नो अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ। युएईलाई पराजित गरे नेपालले सन् २०१६ पछि पहिलो पटक यू-१९ विश्वकप खेल्नेछ।

प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ।

नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१९ विश्वकप गुमाएको थियो।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।

प्रकाशित मिति:February 28, 2023