नेप्सेमा ३.८१ अंकको गिरावट

  Sampatti News Online

February 28, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिनको कारोबार आज मंगलबार झिनो अंकले घटेको छ । आज नेप्से ३.८१ अंकले घटेर दुई हजार १९ दशमलव ७३ विन्दुमा बन्द भएको हो ।      

त्यस्तै, आज नेप्सेमा एक अर्ब ३८ करोड ७८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११८ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्से र कारोबार रकम (दुबै) घटेपनि यस दिन तीन स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधिखोला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन १० प्रतिशत बढेको हो। यस दिन सिद्धार्थ इन्स्योरेन्सको मूल्य भने ६.४१ प्रतिशत बढेको छ। यस दिन धेरै स्टकहरुको शेयरमूल्य घटेपनि गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन प्रिमियर इन्स्योरेन्स, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, सामलिङ्ग पावर र तारागाउँ रिजेन्सी होटल्सको शेयरमूलय साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स र सानिमा माइ हाइड्रोपावरको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ। यस दिन लगानी, जलविद्युत, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

प्रकाशित मिति:February 28, 2023