जनमत पार्टी सरकारबाट बाहिरिँदैन : राउत

  Sampatti News Online

February 28, 2023

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन् । गत १० पुसमा एमालेसहित जनमतको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

१० पुसमा प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहितका दल सरकारबाट बाहिरिँदा जनमत भने सरकारमै रहने भएको हो ।

काठमाडौंमा मंगलबार भएको जनमतनिकट विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीलाई जनमत अध्यक्ष राउतले आफूहरु सरकारबाट नबाहिरिने जानकारी दिएका हुन् । सरकार छोड्नुपर्ने जनमत कुनै परिस्थिति नआएको उनको भनाइ छ ।

राष्ट्रपतिमा स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्तिको रुपमा रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गरेको अध्यक्ष राउतले जानकारी दिए ।

राउतले भने, ‘सभामुख र राष्ट्रपति सकेसम्म एउटै दलको नहोस् भन्ने हामी चाहन्छौँ । किनभने त्यसले देशमा निरंकुशता जन्माउन सक्छ भनेर प्रशस्त आधारहरु रहेका छन् । त्यसैले हामीले नयाँ गठबन्धनले प्रश्तावित गरेको राष्ट्रपतिलाई समर्थन दिने पक्षमा रहेका छौँ ।’

नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने उनले बताए ।

प्रकाशित मिति:February 28, 2023