रास्वपाले सार्वजनिक गर्यो उपनिर्वाचनका दाबेदार

  Sampatti News Online

March 31, 2023

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैशाख १० मा हुने उपनिर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेका छन् ।

उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ १ बाट डा.स्वर्णिम वाग्लेसहित तीनजना छन् । त्यहाँ ईश्वर लामिछाने र डा.रुपक विक घिमिरेले दाबी पेश गरेका छन् ।

त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ । चितवन २ मा भने अध्यक्ष रवि लामिछानेको एकल दाबी छ ।
रास्वपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ ।

यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ । यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन् ।

यदि सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहीँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ ।

प्रकाशित मिति:March 31, 2023