५९ जिल्लामा पुग्यो पाठ्यपुस्तक, बाँकी १८ जिल्लामा वैशाख १५ सम्म पुग्ने

  Sampatti News Online

April 17, 2023

नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगेको छ। गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।

पाठ्यपुस्तक बिक्री-वितरण र छपाइका विषयमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीले जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेका थिए ।

अनुगमनपश्चात् जनक शिक्षाका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको बताए । 

पुस्तक छपाइ गर्ने मेसिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयमा पुस्तक पुर्‍याउन सफल भएको झाको भनाइ छ।

‘मेसिनको संख्या दुई थियो, तीन थप्दा पाँचवटा भयो । ८० हजार प्रतिदिन छपाइ क्षमता भएकोमा मेसिन थपिएसँगै प्रतिदिन दुई लाख ४० हजार छपाइ गर्ने क्षमतामा पुगेका छौँ । कागज खरिदमा समस्या नहुँदा पुसपछि निरन्तर रूपमा मेसिन सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि थप सहज भयो।’

प्रकाशित मिति:April 17, 2023