निजामती सेवामा ५० हजार दरबन्दी रिक्त

  Sampatti News Online

April 19, 2023

काठमाडौं । सरकारले समयमा नै पदपूर्ति प्रक्रिया सम्पन्न गर्न नसक्दा निजामती सेवामा ५० हजार दरबन्दी रिक्त रहेको पाइएको छ । जसअनुसार संघ, प्रदेश र स्थानीय तहमा गरी कुल दरबन्दी १ लाख ३६ हजार १ सय २२ रहेकोमा ५० हजार ४ सय ६६ पद रिक्त छन् ।

महालेखाको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार संघ,प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारमा झण्डै ५० हजार दरबन्दी रिक्त रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखाले संघमा ३८ हजार १ सय २५कार्यरत रहेको र १५ हजार ४ सय ६ रिक्त रहेको उल्लेख गरिएको छ भने स्थानीय तहमा २८ हजार ९ सय ८५ कार्यरत रहँदा ३६ हजार २ सय ८४ पद रिक्त छन् प्रदेशमा ६ हजार ७५ दरबन्दी रिक्त रहेको छन् त्यहाँ कार्यरत जनशक्ति ११ हजार २ सय ४७ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । गत बर्ष १६ निकायमा ९ हजार ५१ अस्थायी दरबन्दी स्वीकृत गरेको भन्दै महालेखाले सो कार्य गलत रहेको निष्कर्ष निकालेको छ । महालेखाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि औचित्य पुष्टि नगरी विशिष्ट श्रेणीको दरबन्दी ५ बाट बढाएर ९ पुर्‍याएको जनाएको छ । महालेखाले दरबन्दी पुनरावलोकन गर्दा कार्यबोझअनुसार सेवा प्रवाहको गुणस्तरमा वृद्धि हुने गरी गर्न सरकारको गम्भीर ध्यानाकृष्ट गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै केही अधिकारीहरुले प्रधानमन्त्री कार्यालयमा ९ वटा सचिवको दरबन्दी राख्नु गलत र त्रृटिपूर्ण रहेको बताएका छन् ।

प्रकाशित मिति:April 19, 2023