घुससहित अख्तियारको फन्दामा परेका दुई जनाविरुद्ध मुद्दा दायर

  Sampatti News Online

April 20, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाष चन्द्र लाल कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत नायब सुब्बा पण्डित र भू-सेवा केन्द्र जलेश्वरका कार्यरत कर्णविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नायब सुब्बा रामकृष्ण पंडित र भू–सेवा केन्द्र जलेश्वर महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको पाइएको छ । आयोगले नायब सुब्बा रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई सेवाग्राहीबाट नौ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा गत फागुन १८ गते नियन्त्रणमा लिइएको थियो । 
अनुसन्धानको सिलसिलामा नायब सुब्बा रामकृष्ण पंडितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस/रिसवत माग गरी लिई लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई राख्न दिएको पाइएको छ । जुन भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको छ । 

उनीहरुसंग सोहि रकम बराबरको बिगो माग गरिएको छ । उनीहरु दुई जना विरुद्ध आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ । 

प्रकाशित मिति:April 20, 2023