ठमेलभित्रका सडकमा सिसी क्यामेरा जडान गरिने

  Sampatti News Online

May 4, 2023

काठमाडौं । काठमाडौं ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका भित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागेको हो ।

ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे काठमाडौं महानगरपालिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल तथा ठमेल पर्यटन विकास परिषद्को टोलीले आज स्थलगत अवलोकनसमेत गरेको छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले काठमाडौं महानगरपालिकाको सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागिएको जानकारी दिए । ‘ठमेलभित्रका कुन चोक तथा सडकमा सिसी क्यामरा आवश्यक छ भन्नेबारे आज काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र ठमेल पर्यटन विकास परिषद्को टोलीले पाँच घन्टा लगाएर स्थलगत अवलोकन गरेको छ, चाँडै नै ठमेलभित्र सिसी क्यामरा जडान हुन्छ’, उनले भने ।

नेपालभित्र घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउँछन् । ठमेलभित्र आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति दिलाउन सिसी क्यामरा जडान गर्न लागिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धितालले ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे स्थलगत अवलोकन भएको बताए ।

काठमाडौंभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई छ करोड आर्थिक सहयोग गरेको छ ।

प्रकाशित मिति:May 4, 2023