पूर्वउपप्रधानमन्त्री रायमाझी सम्पर्कविहीन

  Sampatti News Online

May 5, 2023

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी सम्पर्कविहीन भएकाे  छन् । नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीलाई पनि प्रहरीले पक्राउको सूचीमा राखेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री दाहालसँग रायमाझीको विषयमा कुरा गर्न ओली बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । उनले प्रधानमन्त्रीसँगको भेटमा रायमाझीमाथि षड्यन्त्र भएको भन्दै ध्यानाकर्षण पनि गराए ।

यही प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको छ । यस प्रकरणमा अहिलेसम्म ८ जनालाई पक्राउ गरिएको र थप १० जनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गृहजिल्ला अर्घाखाँचीमा बुधबार आयोजित कार्यक्रममा रायमाझी सभामुख देवराज घिमिरेसँगै अतिथि थिए । उनी फर्किएलगत्तै नियन्त्रणमा लिने काठमाडौं प्रहरीको तयारी थियो । काठमाडौं प्रहरीले रूपन्देही, कपिलवस्तु र अर्घाखाँची प्रहरीलाई पनि पक्राउ पुर्जीबारे जानकारी गराइसकेको थियो । तर उनलाई अर्घाखाँची र कपिलवस्तु प्रहरीले अवरोध गरेन । दिनभर सुरक्षा घेराबीच भएको कार्यक्रम सकेर रूपन्देही झरेपछि रायमाझी सम्पर्कविहीन भएका हुन् । उनले नेपाल प्रहरीका पीएसओलाई काठमाडौंमै छाडेर गएका थिए ।

अर्घाखाँचीको कार्यक्रममा सँगै रहेका सभामुख घिमिरे भने काठमाडौं फर्किएका छन् । नेपाल प्रहरीका एक अधिकारीले बुधबार साँझबाट रायमाझी सम्पर्कमा नरहेको र खोजी जारी रहेको जानकारी दिए ।

शरणार्थीका नाममा ठगी धन्दा चलाउन गिरोह सक्रिय रहेका बेला टोपबहादुर ऊर्जामन्त्री थिए । त्यति बेलाका गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई सोही प्रकरणमा मंगलबार पक्राउ परिसकेका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले बुधबार नियन्त्रणमा लिइसकेको छ । उनको पछिल्लो दरबन्दी उपराष्ट्रपति कार्यालयमा छ ।

प्रहरी हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईले दिएको बयानका आधारमा उच्च अधिकारीहरू अनुसन्धानमा तानिएका हुन् । ‘पक्राउ पुर्जी जारी भएका तर पक्राउ नपरेका व्यक्तिको खोजबिन भइरहेको छ,’ नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले भने, ‘विधि र प्रक्रियामा रहेर आरोपितविरुद्ध अनुसन्धान भइरहेकाले पक्राउ पुर्जी जारी भएकाहरूलाई कुनै पनि हालतमा कानुनी दायरामा ल्याइनेछ ।’ ठगी प्रकरणका विषयमा काठमाडौं प्रहरीमा २० वटा छुट्टाछुट्टै जाहेरी परेका छन् । १ सय ६ जनाका तर्फबाट दिइएका ती जाहेरीमा २३ करोड ९९ लाख रुपैयाँ ठगी भएको उल्लेख छ । यस विषयमा प्रहरीले सुरुमा ठगीको कसुरमा अनुसन्धान अघि बढाएको थियो । तर, गिरोहले संगठित रूपमा धन्दा चलाएको पाइएपछि ठगीका अलावा संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:May 5, 2023