सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

  Sampatti News Online

May 8, 2023

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सोमबार संघीय संसद भवनमा भ्रष्टाचारविरुद्ध बोल्न नपाएको भन्दै कपडा खोलेका चर्चा र विवादमा तानिएका अमरेश कुमार सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ज भएको छ ।
१५ बर्षको अवधिमै करोडौं सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध सर्लाहीका विकासकुमार ठाकुरले अख्तियारमा उजुरी हालेका हुन ।

बलरा नगरपालिकामा डेढ बिघा जग्गाबाहेक अरु पैत्रिक सम्पत्ति र आम्दानीको स्रोत नरहेका सिंहले पछिल्ला १५ बर्षमा कुन स्रोतबाट करोडौं आर्जन गरे ? भन्दै अख्तियारमा उजुरी हालिएको हो ।

उनले हालेको २० बुँदा सहितको चार पन्ने उजुरीमा लेखिएको छ,२०६३ मा अन्तरिम संसदमा मनोनीत हुनुपूर्व काठमाडौंको कीर्तिपुरमा दुईकोठे डेरामा बस्ने गरेको,अन्तरिम संसदमा प्रवेशसँगै सर्लाहीमा घर बनाएको, जग्गा किनेको, लिलतपुर भैँसेपाटीमा आलिसान महल बनाएको, आफू र आफन्तका नाममा करोडौँका घर बनाएको लगायतका आरोप ठाकुरले लगाएका छन् ।


जेठी श्रीमतीको नाममा झापामा ४ कठ्ठा जग्गामा २ करोडको बंगला,दोश्रो श्रीमती लक्ष्मी जोशीको नाममा विभिन्न ठाउँमा घर जग्गा,करोडौंका जम्मा,बैंकहरुमा लाखौंको शेयर खरिद गरेको उजुरीमा उल्लेख गरिएको छ ।

कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा गरेको खर्च र विलासी जीवनशैलीसहितलाई आधार मानेर ठाकुरले आयोगमा उजुरी दिएका हुन् ।

२०६३ सालबाट राजनीतिमा उदाएका सिंहको आर्थिक फड्को नै भ्रष्टाचारको कारण रहेको निवेदनमा ठाकुरले दाबी गरेका छन् ।

प्रकाशित मिति:May 8, 2023