भुटानी शरणार्थी बनाएर ठगी प्रकरण: टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

  Sampatti News Online

May 9, 2023

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले नेतासमेत रहेका सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको रायमाझीको घरमा मंगलबार खानतलासीका गरेको प्रहरीले जनाएको छ । खानतलासी अहिले पनि जारी छ ।

काठमाडौं जिल्ला अदालतबाट वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लामा पत्राचार गरेको छ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा बिचौलियाहरुबाट करोडौं रकम बुझेको आरोप टोपबहादुर र छोरा सन्दीपमाथि लागेको छ ।

उनका छोरालाई प्रहरीले त्यही दिन बुटवलबाट पक्राउ गरेर हिरासतमा लिइसकेको छ । बिचौलियाहरुले सन्दीपको नाममा चार वर्षअघि डेढ करोडको चेक काटेका थिए ।
प्रहरीलाई झुक्याएर बच्न सफल नेकपा एमालेका सचिव, सांसद एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भारतमा पुगेको निष्कर्ष निकालिएको छ । उनी भैरहवा हुँदै भारतको गोरखपुर पुगेको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीले भारतमा एउटा टोली नै खटाएर टोपबहादुरलाई खोज्ने रणनीति बनाएको प्रहरीको उच्च स्रोतले बतायो । गत साताको बुधबार टोपबहादुरलाई पक्राउ गर्न पुर्जी जारी भएको भए पनि टोपबहादुर भने निर्वाध रुपले अर्घाखाँचीबाट सभामुख देवराज घिमिरेसँग सँगसँगै बुटवल आएर काठमाडौँ आउँदा पक्राउ पर्ने भयले भैरहवाबाट बेपत्ता भएका थिए । अहिलेसम्म नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय रहेको आरोपमा गिरोहका आठ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:May 9, 2023