बिडिएस चौथो वर्षमा अध्ययनरत छात्राले गरिन् आत्महत्या

  Sampatti News

May 11, 2023

चितवन – आन्तरिक परीक्षा दिइरहेको बेला परीक्षा हलमा खटिएका शिक्षकले जबर्जस्ती मानसिक तनाव दिएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् ।

चितवन मेडिकल कलेजमा बिडिएस चौथो वर्ष (पहिलो चरण) की विद्यार्थी पाल्पाको रामपुर नगरपालिका वडा नं–४ घर भई भरतपुर–१० मा डेरा गरी बस्ने २३ वर्षीया सिमरन थापाले बुधबार दिउँसो १ः३० बजे आत्महत्या गरेको चितवन प्रहरीले पुष्टि गरेको छ ।

परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनले कोठामा गएर आत्महत्या गरेकी हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको बुझ्न आएको बताए ।

उनले आफू सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवबाट ५०० मिटर उत्तरमा  सो घटना घटेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।

मेडिकल कलेजका विद्यार्थीहरुले आज प्रेषित गरेको विज्ञप्तिमा मृतक थापाले आन्तरिक परीक्षा दिइरहेको समयमा परीक्षामा खटिएको शिक्षकले जबरजस्ती मानसिक तनाव दिई परीक्षा हलबाट निकालेपछि उनी आत्महत्या गर्न बाध्य भएको जनाइएको छ ।

विद्यार्थीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् ।

प्रकाशित मिति:May 11, 2023