स्वच्छ छविका राईलाई किन जोडिँदै छ भुटानी शरणार्थी प्रकरणमा ?

  Sampatti News Online

May 19, 2023

नक्कली शरणार्थी खडा गरेर करिब ४० करोडभन्दा रुपैयाँभन्दा बढी रकम ठगीको आशंकामा नेपाल प्रहरीले हाई प्रोफाइल र बिचौलिया गरेर हालसम्म १४ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ भने दुई जना फरार रहेका छन् । प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, संविधानसभा सदस्य आङटावा शेर्पा, बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, खाँडका स्वकीय सचिव नरेन्द्र केसी, रायमाझीका छोरा सन्दिप, सागर राई, सन्देश शर्मा, गोविन्द चौधरी, रामशरण केसीलाई पक्राउ गरिसकेको छ भने बादलका छोरा प्रतिक र अर्का अभियुक्त निरज हालसम्म फरार छन् ।
यसैगरी भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र समिम मियाँ पनि यसै आरोपमा पक्राउ परिसकेका छन् । २०७९ चैत १२ गतेदेखि शुरु भएको पक्राउको श्रृखंला हालसम्म जारी छ । लहरो तान्दा पहरो गर्जिएझैँ एकपछि अर्को रहस्यसँगै विभिन्न व्यक्तिहरुको संलग्नता पनि उजागर हुँदै गएको छ । यो मुद्धा जति पेचिलो बन्दै गएको छ त्यसले त्यती नै राष्ट्रिय राजनीतिमा पनि असर पारिरहेको छ ।
मुख्य ठूला दलका नेता, मन्त्री र जिम्मेवार सचिवको सँलग्नताको पुष्टिसँगै अनुसन्धानको सुई हरेक क्षेत्रमा सक्रिय रहेका व्यक्तितिर पनि सोझिएको छ । राज्यद्रोह नै गरेपछि आफू फसिने र करियर नै समाप्त हुने भएपछि कतिपयले आफ्नो बचावका लागि पनि अन्धाधुन्ध रुपमा अन्यको नाम पोलिरहेका छन् । पुष्टि हुन नसक्ने तर तथाकथित रुपमा बोलेर त्यस्ता व्यक्तिहरुको बदनाम गराउने चलखेल पनि शुरु भएको छ । पक्राउ परिसकेका व्यक्तिहरुलाई विभिन्न प्रलोभन देखाएर आफ्नो अभिष्ट पूरा गर्ने हेतुले इन्द्रजित राईलाई जबरजस्र्ती अन्यको नाम बोल्न दबाव दिइएको कुरा बाहिर आउनुले राज्य संयन्त्रमा रहेका उच्च तहका पदाधिकारी कुन हदसम्म जान सक्छन् भन्ने स्पष्ट भएको छ ।
गृह मन्त्रालयसँग सम्बन्धित नक्कली शरणार्थी मुद्धाले अन्तर्राष्ट्रिय रुपमै देशको छविलाई धुमिल बनाइरहेको छ,यसमा सँलग्न जोसुकैलाई विना दण्ड छोडिनु हुँदैन,छोडिए अक्षम्य अपराध हुने छ । अपराधीलाई कारवाहीको दायरामा ल्याउँदा यसमा सँलग्न नभएकालाई डाम्नु अपराध ठहरिन्छ । देशको प्रणालीलाई नै भताभुङ्ग पारेर स्वार्थसिद्ध गर्न पल्किने सदावहार बिचौलियाहरु अहिले प्रेमकुमार राई जस्ता क्रिम प्रशासकलाई बदनाम गराउन लागि परेका छन । यद्यपि यसमा कुनै सत्यता नभएको पुष्टि भइसकेको छ । नक्कली शरणार्थीको योजना बन्दा संयोगवश गृह मन्त्रालयको सचिव रहेका राई एक कुशल प्रशासक मात्र नभई निडर र स्वच्छ छवि भएका व्यक्तिका रुपमा परिचित छन् । उनले गरेका हरेक निर्णय पारदर्शी र प्रभावकारी भएको तथ्यलाई कागजातहरुले पुष्टि गर्दछन् । निजामती सेवाको विभिन्न तहमा रहेर सेवा प्रवाह गर्ने क्रममा उनको कार्य सम्पादन र निर्णय अझै पनि स्मरणयोग्य रहेको उनीसँग निकट रहेर काम गरेका राष्ट्रसेवक कर्मचारी मात्र नभई नागरिक समाजका अगुवाहरुले समेत बताउँदै आएका छन् ।
राष्ट्रसेवामा समर्पित रहँदा बिनास्वार्थ दत्तचित भएर काममा लागि रहने राई कालान्तरमा भ्रष्टाचार निवारण गर्ने सर्वोच्च निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त हुँदा धेरैले सही व्यक्ति सही पदमा पुगेको भनेर प्रतिक्रिया जनाउनुले पनि उनको स्वच्छ छवि जनमानसमा झल्काउँछ ।
उच्च तहमा पुग्दा राईले राष्ट्रलाई हितको पक्षमा राई गरेका कतिपय निर्णय बिचौलिया र उच्च तहका नेताहरुलाई मन नपरेको जगजाहेरै छ । ललिता निवासको जग्गा प्रकरणको छानबिन लगायत गृह मन्त्रालयमा प्रणाली बसाल्ने जस्ता महत्वपूर्ण निर्णय गर्दा तत्कालीन गृहसचिव राई कतिपयको आखाँको कसिङ्गर नै बने । उनलाई बदनाम गराएर त्यहाँबाट हटाउन चलखेल नभएको पनि होइन तर “ न बिराउनु, न डराउनु” भनेझैँ उनी आफ्नो काममा इमान्दारीपूर्वक लागिरहे । यति मात्र होइन गृहसचिवको हैसियतमा पाउने सुरक्षालगायतका सेवा सुविधा नलिने निर्णय गरेर आफैँबाट सुशासनको शुरुवात गरेका थिए,जसले उनको कदलाई अझ अग्लो बनाएको थियो तर विडम्बना त्यो स्वच्छ छवि बनाएका राईलाई विचौलियाहरुले बाछिटा हान्ने प्रयास गरिरहेका छन् । तर उनको कार्यशैली र सादा जीवन बुझ्नेहरुलाई यो कुरा हास्यास्पद लागिरहेको छ ।
गृहसचिवको अवकाशसँगै अख्तियार प्रमुखको जिम्मेवारी पाएका राईलाई त्यहाँ जान नदिन धेरै तत्वहरु सक्रियतापूर्वक लागे । उनकै कर्मचारीतन्त्र मात्र होइन, निजी क्षेत्र, विचौलिया र दलका नेताहरु पनि उनलाई अख्तियार जान नदिन हात धोएर लागेको कतै लुकेको छैन । उनले निजामती सेवामा रहँदा गरेका कतिपय निर्णय नरुचाएकाहरु संगठित रुपमा लागेर उनलाई अख्तियार जानबाट रोक्न अन्तिमसम्म प्रयास गरे । अख्तियार पुगिसकेपछि समेत उनलाई हटाउन सर्वोच्च अदालतमा मुद्धा दायर गरेर सुशासन कायम गर्ने उनको हुटहुटीलाई रोक्ने प्रयास नभएको होइन,यद्यपि उनी देशमा भएका भ्रष्टाचार लगायतका बेतिथिलाई निर्मूल पार्ने काममा निरन्तर क्रियाशील भइरहे । सेक्यूरेटी प्रेस लगायतका ठूला मुद्धालाई उजागर गर्दै देशमा व्याप्त भ्रष्टाचारको जालोलाई उदाङ्गो पार्ने प्रयास गरे । सेटिङ्गमा देश चलाउँछु भन्ने ठूला विचौलियाहरुले उनलाई यी र यस्तै विषयमा रोक्न खोजेपनि निडरता एवं नैतिकबलका साथ अगाडि बढिरहे ।
यसैबीच नक्कली शरणार्थीको मुद्दामा उनको नाम जोडेर अनर्गल प्रचार गर्ने काम ती संगठित गिरोह र विचौलियाहरुले गरिरहेका हुन् । यसका लागि उनीहरुले मिडिया मात्र नभई सामाजिक सञ्जालमा करौडौँ खर्च गरेर यसको दुरुपयोग गरिरहेका छन् । यति मात्र होइन राईलाई फालेर त्यो ठाँउमा पुग्ने चाहना राख्ने आन्तरिक र बाह्य समूहहरु यतिबेला सक्रिय भएका छन् । राई जस्तो इमान्दार र स्वच्छ छविको व्यक्तिलाई बदनाम गराएर आफ्नो भरोसाका मान्छे त्यहाँ पुर्‍याउन सकिन्छ भन्ने प्रयास दलहरुले पनि गरिरहेका छन् । प्रेम राईलाई नजिकबाट चिन्नेहरुले उनको विषयमा गलत नबोलेपछि अत्तालिएका गिरोहले उनलाई दुई करोड गाडीको डिकीमा राखेको हावादारी र भ्रामक समाचार फैलाउने काम गरिरहेका छन् । सिंहदरबार जस्तो प्राविधिक र सुरक्षाका हिसाबले सुसज्जित ठाँउमा दुई करोड रुपैयाँ राखेको हल्ला फैलाउने, एकपटक सीसीटीभी छ भन्ने कुराको सामान्य हेक्का नराख्नुले यो अफवाह प्रायोजित रहेको पुष्टि गर्छ । दुई करोड तीस लाखका नोटका बिटा बोकेर सिंहदरबारको गृह मन्त्रालयभित्र सचिवको कक्षसम्म पुगेको र त्यो रकम लगेर पुनः गाडीको डिकीमा राखेको भन्नेजस्ता अपत्यारिला कुरालाई समेत अन्धाधुन्ध प्रचार गर्नु आफैँमा सुनियोजित षड्यन्त्र भएको कुरामा दुईमत छैन । राईलाई बदनाम गराउन जे जस्ता प्रपञ्च रचिए पनि नैतिक,आर्थिक र चारित्रिक रुपमा स्वच्छ छवि तथा अग्लो कदका राईलाई कुनै असर नपर्ने नागरिक समाजका अगुवाको दावी छ । राई र राईजस्ता स्वच्छ छवि भएका व्यक्तिको पक्षमा आम जनमानस नउठ्ने हो भने देशमा विचौलियाहरुको हालीमुहाली हुने कुरामा दुईमत छैन ।
राईलाई बदनाम गराएर संवैधानिक निकायको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि कमजोर बनाउने प्रयास हुँदैछ । यसमा नागरिक समाजका अगुवा र बौद्धिक जमात बोल्न जरुरी देखिन्छ ।
नक्कली शरणार्थी प्रकरणमा जोडिएकाहरुको बयान सकिएको छ । केही आरोपितलाई हिरासतमा यातना दिई साबिती बयान लिन खोजिएको भएतापनि कुनैपनि दृष्टिकोणमा यस प्रकरणमा प्रमुख आयुक्त राईको संलग्नता पुष्टि हुन सकेको छैन । यद्यपि प्रकरणमा नाम जोडिएका आरोपितहरुलाई पुनः दवाव र प्रभावमा पारी साबिती बयान लिनसकिने आशामा षड्यन्त्रपूर्वक दोश्रोपटक बयान दिनेगरी हाललाई बयान लिने क्रम स्थगित गरिएको छ ।एकातर्फ सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र अर्कोतिर आरोपितहरुलाई दवाव दिई पुनः बयान लिने अवस्था सृजना गराउनु भनेको दुवैतिर तरबार देखाएर भ्रष्टाचार निवारणको जिम्मेवारी पाएको संवैधानिक अंगलाई निष्प्रभावी एवं थप कमजोर बनाउने षड्यन्त्रका रुपमा नागरिक समाजले लिएका छन् । यसबाट यो प्रकरणपश्चात् सदनमा छलफलका लागि प्रस्तुत भएका विधेयकमा भ्रष्टाचार सम्बन्धी मुद्दा पाँच वर्षपछि छानबिन गर्न नपाइने र मुद्दाको अनुसन्धान गर्नुपूर्व राजपत्रमा सूचना अनिवार्य रुपमा प्रकाशित गर्नुपर्ने जस्ता प्रावधान राख्न खोज्नुले अख्तियारलाई कमजोर बनाउने तथा राईमाथिको निर्मम प्रहारका रुपमा लिन सकिन्छ । समग्रमा यस प्रकरणको चुरो कुरो बुझी नागरिक समाजले सचेत हुँदै हाम्रा होइन राम्रा राईलाई हातोत्साहित होइन उनको अन्तस्करणको भावनालाई सम्मान गर्दै ठूला माछा समात्न उनलाई सहयोग गर्ने भूमिका निर्वाह गर्नुपर्छ । कुनै राजनीतिक शक्तिकेन्द्रको आडमा नियुक्त गरिएको भनेर प्रचार गरिएपनि राई आफ्नै दक्षता, योग्यता र क्षमताले संवैधानिक अंगका प्रमुखको रुपमा नियुक्त भएका हुन् । यसमा कसले नियुक्त गरेको भन्दापनि नियुक्ति पाइने व्यक्तिको पात्रता हेर्नु जरुरी छ । एक इमान्दार, कर्तव्यनिष्ठ र राष्ट्रभक्त राष्ट्रसेवक राईविरुद्ध भइरहेका सुनियोजित प्रहारको प्रतिकार गरी नागरिक समाजकै अभियानमा समर्थन जनाउने राईको नैतिक बललाई क्षीण हुन नदिने अभियानमा सबैको साथ र सहयोग अपरिहार्य देखिन्छ । अन्यथा सुशासनका साझा सवालमा क्रियाशील राई र नागरिक समाजको संयुक्त अभियानलाई निस्तेज पार्न लागिरपरेका तत्वहरुको प्रपञ्च बुझी सशक्त प्रतिकार गर्न ढिलाई गरेमा भविष्यमा पश्चात्तापसिवाय अन्य कुनै विकल्प रहने छैन ।
(जि.पी.सी.)

सम्बन्धित समाचार

अख्तियार प्रमुख राईको अनुकरणीय व्यक्तित्व

प्रकाशित मिति:May 19, 2023