२२ सहसचिवको सरुवा, अर्थमा फर्किए पौडेल

  Sampatti News Online

May 26, 2023

काठमाडौँ । सरकारले २२ जना सहसचिवको सरुवा गरेको छ । सरुवा हुनेमा केही पुरानादेखि केही नयाँ मिलानसम्म रहेका छन् ।

सरकारले २२ सहसचिवको सरुवा गर्दा ३ सहसचिवले गृहमा इन्ट्री पाउँदा एक जना गृहबाट बाहिरिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीका शन्त बहादुर सुनारलाई गृह मन्त्रालय,अख्तियारमा कार्यरत सहसचिव गोपाल कुमार अधिकारीलाई गृह मन्त्रालय इन्ट्री पाएका छन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सुरेश राउतको गृह मन्त्रालयमा ल्याइएको छ । गृहमातहतको जिल्ला प्रशासन कार्यालय नवलपरासी (सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल गृहबाट आउट भएका छन् । उनलालाई राष्ट्रपतिको कार्यालयतिर पठाइएको छ।

चलखेलमा माहिर एक जना सहसचिवले २२ दिनमै आफ्नो सरुवा उल्टाएका छन् । यसरी सरुवा उल्टाउन सफल सहसचिव हुन कमल भट्टराई । गत वैशाख २० मा उनको सरुवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको थियो । तर सो सरुवा उल्टाएर उनी संघीय मामिला तथा सामान्य प्रशासनमै फिट भएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मोदी अमनलाल मोदीले उनलाई फेरि मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारी दिएका छन् ।

यस्तै खानेपानी मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल अर्थ मन्त्रालय गएका छन् भने उनको ठाउँमा सत्य निरूपण तथा मेलमिलाप आयोगका अर्जुन गौतमलाई पठाइएको छ ।  पौडेल अर्थमा गएसँगै कतिपयले भन्सार विभागको महानिर्देशक हुने आँकलन गरेका छन् तर अर्थ स्रोतका अनुसार उनी केही समय मन्त्रालयमै बस्न र भन्सारमा उत्तर कुमार खत्री जाने चर्चा छ । यद्यपि मन्त्री डा. प्रकाश शरण महतले हाल विभागमै उपमहानिर्देशक रहेका शेवन्तक पोखरेललाई बचन दिएको कुरा पनि छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशका नारायण प्रसाद शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । सङ्घीयको अतिरिक्तमा रहेका कमल कुमार अधिकारीलाई शहरी विकास मन्त्रालयमा खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कविराज पौडेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा खटाइएको छ । यस्तै वन तथा वातावरण मन्त्रालय, बागमतीका धिरेन्द्र कुमार प्रधानलाई वन तथा वातावरण मन्त्रालय र मन्त्रालयका यज्ञनाथ दाहाललाई बागमती वनमा तानिँएको छ ।

सहसचिव मदन भुजेलको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रवेश पाउँदा कृषिबाट काली प्रसाद पराजुलीलाई चिकित्सा शिक्षा आयोगतिर पुगेका छन् ।यस्तै, उद्योग, कृषि तथा सहकारी कोशीका मेघ नाथ तिमल्सेनालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तानिँदा कृषिका लेखनाथ दाहाललाई उद्योग, कृषि तथा सहकारी कोशी, प्रदेश नीति तथा योजना आयोगतिर पुगेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिमका भगवान् अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ल्याइएको छ । तीन महिनादेखि जिम्मेवारविहिन अबस्थामा रहेका गणेश राज वस्तिलाई शहरी विकासबाट प्राकृतिक स्रोत तथा वित्त आयोग र त्यहाँका दिपक कुमार दासलाई सहरी विकास मन्त्रालयमा ल्याइएको छ ।

प्रकाशित मिति:May 26, 2023