अमेरिकामा ‘द सेक्रेट अफ राधा’ प्रदर्शन हुने

  Sampatti News

May 31, 2023

काठमाडौँ । चलचित्र ‘द सेक्रेट अफ राधा’ क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को बे एरियामा आगामी जुन ३ र ४ (शनिबार र आइतबार) फ्रिमण्टको सिने लाउन्जमा प्रदर्शन हुने भएको छ भने कंकर्डस्थित थिएटरमा जुन ७ मा बेलुकी प्रर्दशन हुने व्यवस्था मिलाइएको छ।

सामाजिक मुद्दामा बनेको नारीप्रधान चलचित्र ‘राधा’ले नारी पात्रको प्रतिनिधित्व मात्र नगरी नेपाली समाजको चित्रण गरेको चलचित्रका निर्देशक सुवर्ण थापा बताउँछन्। ‘वास्तवमा यो चलचित्र नेपाली समाजमा दिनहुँ भएका र घटेका घटनाहरुको दर्पण हो,’ निर्देशक थापाले भने।

आफ्नो चलचित्रले आफ्नो पनि भोगाईको विषयलाई उजागर गरेको उल्लेख गर्दै निर्देशक थापा भन्छन्, ‘यस चलचित्रको निमार्ण र प्रदर्शनपछि नेपाल र अन्य देशका दर्शकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाएको छु।’

अमेरिका र यूरोपमा बसोवास गर्ने नेपालीहरु र खासगरि दोस्रो पुस्ताका नेपालीहरुलाई नेपाली महिलाहरुको संघर्ष र उनीहरुको भोगाइबारे चलचित्रले थप प्रष्ट पार्न सहयोग गर्ने बताउँदै भन्छन्,’यो मनोरन्जन मात्र नभइ समग्र नेपाली नारीहरुको एकमुष्ट कथा हो।’

कलाकारहरु श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङलगायतको आभिनय रहेको छ।

चलचित्र सौगात मल्ल र निर्देशक थापाको संयुक्त लगानीमा बनेको हो र अहिले निर्देशक थापा अन्तर्राष्ट्रिय डायस्पोरामा राधा चलचित्र प्रदर्शन गर्ने क्रममा आफै प्रदर्शनमा जुटेका हुन्।

टिकट ल्भउबष्तिजष्लनक अनलाइनमा किन्न पाइने र शो समयमा हलमा पनि किन्न सकिने व्यवस्था मिलाइएको निर्देशक थापाले बताए। कोरियाको बुसान फिल्म फेस्टिबलबाट पटकथा लेखनमा ग्राण्ट पाएको यो चलचित्र नेफ्टाको १० वटा विधामा मनोनित भएको थियो भने निफमा जुरी अवार्ड जितेको थियो।

हाल फ्रान्समा बसोवास गर्दै आएका निर्देशक थापा अन्तर्राष्ट्रिय वृत्तचित्र र चलचित्र निमार्णमा अब्बल मानिन्छन्। चलचित्रलाई अमेरिका र अस्ट्रेलियाका मुख्य शहरहरुमा प्रदर्शन गरिने बताइएको छ।

प्रकाशित मिति:May 31, 2023