गुलियो उखु : अमिलो पीडा, भुक्तानी नदिँदा रोकियो छोरीको विवाह 

  Sampatti News Online

May 31, 2023

रौतहट । मधेश प्रदेशका चिनी मिलले भुक्तानी नदिँदा उखु किसान समस्यामा परेका छन् । रौतहटको कटहरिया – ९ डुमरियास्थित बाबा बैजुनाथ चिनी उद्योगले १५ दिनभित्र भुक्तानी दिने भनी झुक्याएर लिएको उखुको ४ महिनामा पनि भुक्तानी दिएको छैन । गुजाराको माध्यम खेती मात्र भएका किसानले आफ्नो खेतका सबै उखु चिनी मिललाई जिम्मा लगाएका थिए । मिलबाट १ रुपैयाँ पनि नपाएपछि किसानलाई खेती गर्नुभन्दा भुक्तानी लिन बढी सकस भएको छ ।खेती गर्दाको खर्च, घरखर्च र बालबच्चाको पठनपाठनको शुल्क तिर्नसमेत चर्को ब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको किसानले बताएका छन् । उखु बेचेर केही आम्दानी गर्ने योजना बनाएका किसान भुक्तानी नपाउँदा खेती गर्दाको लागतसमेत डुबेर पीडित बनेका छन् । किसानको पीडा सरकार र उद्योगपतिले नबुझेकोमा किसान आक्रोशित छन् । किसानहरूले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह समेत गरेका छन् ।मिल सञ्चालक र किसानबीच भुक्तानीकै विषयलाई लिएर विवाद हुँदै आएको छ । किसानले समयमै भुक्तानी पाउने गरी समस्याको समाधान गर्न आवश्यक कदम सम्बन्धित निकायले तत्काल चाल्नुपर्ने देखिन्छ ।

कटहरियामै चिनीमिल सञ्चालन भएपछि स्थानीय किसान निकै उत्साहित भएका थिए। अब घरमै बसेर उखुको चलानपूर्जी र निर्धारित समयमा भुक्तानी पाउने किसानहले आशा र विश्वास राखेका थिए। झन् मिल सञ्चालन हुनुअघि बैजुनाथ मिल प्रशासनले उखु चलेको १५ दिनभित्रै किसानको बैंक खातामा पैसा पठाउने भनेपछि किसान निकै खुशी भएका थिए। तर केही समय नबित्दै मिल प्रशासनको भनाई एकातिर र गराई अर्कोतिर अर्थात् ब्यवहार फरक देखिएको छ।

कटहरिया –४ का किसान लालबाबु यादवले यस वर्ष छोरीको विवाह गर्ने योजना अनुसार गत सिजनमा ४ बिगाह १० कट्ठा उखु खेती लगाए। मोहीसहित आफ्नो जग्गा ३ विगाह र १५०० रुपैँया प्रतिकट्ठाको दरले हुन्डा दिएर १ विगाह १० कठा उखु खेती गरेको किसान यादवले बताए। साढे ४ विगाह उखुखेती गर्न लागेको खर्च मध्ये ३ लाख रुपैयाँ ३ रुपैया सैकड ब्याजमा लिएको उनको भनाई छ। गत फागुन २० गतेभित्र सरकारी अनुदान बाहेक करिब १० लाख ३० हजार बराबरको २४ ट्याक्टर उखु डुमरियास्थित चिनिमील चलान गरेको थिए।  १५ दिनमा भुक्तानी दिनुपर्ने सर्त आनुसार मिलले पटकपटक गरी हालसम्म करिब ६ लाख रुपैयाँ दिएको छ।

  खेतिगर्न लिएको कर्जा ३ लाख,जग्गाको हुनडा बापत ४५ हजार, उखु ढुवानी बापत ट्याक्टर भाडा ७६ हजार, उखु कटाई, लोड गराई बापत करिब २ लाख गरी पाएको सम्पूर्ण रकम खर्च भइसकेको किसान यादवले बताए। चिनी मिलको सूचना अनुसार मिललाई दिएको सम्पुर्ण उखुको भुक्तानी १५ दिनभित्र अर्थात चैत्र ५ गतेसम्म पाउनुपर्ने थियो। भुक्तानीको लागि पटकपटक मिलमा दौडीदा पनि भुक्तानी नपाएको कारण जेठ २९ मा तोकिएको छोरीको बिहे अगामी आषाढ ७ गते सारेको किसान यादवले बताए।

बैशाख दोस्रो सातासम्म पनि भुक्तानी नपाएको कारण छोरीको बिहेको खर्च जुटाउन १० कठा जग्गा सुधाभर्ना राखेर दुहुनो भैँसी बिक्री गर्न लागेको किसान यादवले दुःखेसो पोखेका छन।  त्यसैगरी कटहरिया– ४ टोलापुरका उखु किसान धीरेन्द्र कुशवाहाले ४ महिनाअघि मिलमा ६ ट्याक्टर उखु दिएकोमा एउटा चलान पूर्जीको भुक्तानी १५ दिनभित्रै पाएको बताए। बाँकी ५ वटा पुर्जीको भुक्तानीको लागि पटकपटक मिलमा धाउँदा पनि हालसम्म पाउन नसकेको गुनासो गरेका छन्। उखु काट्ने मजदुर तथा ढुवानी गर्ने ट्याक्टर धनीलाई कर्जा सापट लिएर दिएको र मिलले समयमा भुक्तानी नदिँदा थप समस्यामा परेको उनले बताए ।

चिनी मिलमा उखु दिएर ४ महिनादेखि हैरान हुने यादव र कुशवाहामात्र होइनन् । रौतहट र बाराका दर्जनौं किसान यो समस्याबाट पीडित छन्। मिलले १५ दिनमै भुक्तानी दिने प्रतिबद्धता जनाएका कारण दर्जनौँ किसानले मिहिनेत पसिनाले उब्जाएको उखु मिललाई उधारोमा दिएका थिए। माघ महिनामा उखु चलान गरेर भुक्तानीको लागि कैयौं किसान दैनिक कटहरिया डुमरिया दौडिरहेका पीडितले गुनासो गरेका छन्।

चिनी मिलका जनरल मनेजर सियाराम साहले  यस सिजनमा २१ फागुनसम्म मिल सञ्चालन हुँदा करिब ७ लाख क्विन्टल उखु क्रसिङ् गरेको बताए। सोमध्ये माघ महिनासम्म चलेको उखुको भुक्तानी प्रक्रिया सुरु गरिएको तथा त्यसपछि चलेको उखूको भुक्तानी केहीदिन भित्रै सुरु हुने साहले जानकारी दिए ।

प्रकाशित मिति:May 31, 2023