राष्ट्र बैंकको आडमा कालोसूचीमा राख्नुपर्ने ठेकेदारलाई संरक्षण गर्दै लक्ष्मी बैंक

  Sampatti News

May 31, 2023

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडले ठेकेदारको मिलेमतोमा चेक अनादर कार्यमा संलग्न चितवनको क्षेत्रपुरस्थित सन्तोषी निर्माण सेवा प्रालिलाई संरक्षण गरेको छ । प्रालिको नाममा लक्ष्मी बैंक, लालबन्दी शाखा, सर्लाहीस्थित खाता नम्बर ०८२११०००११८ को चेक खातामा रकम नभएको जानीजानी भीम प्रसाद सापकोटाका नाममा जारी गरेको थियो । चेक बाउन्स भएपछि सापकोटाले कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न लक्ष्मी बैंक, केन्द्रीय कार्यालयमा चैत्र २२ गते निवेदन दिई आवश्यक दस्तुरवापतको रकम जम्मा गरेका थिए ।तर बैंकले ठेकेदारसँगको मिलेमतोमा दोषीमाथि कार्वाहीको प्रक्रिया अगाडि बढाउन आलटाल गरिरहेको सापकोटाले बताए । बैंकको कालो सूचीमा राख्ने जिम्मेवारी पाएका कर्मचारीले नेपाल राष्ट्र बैङ्कसँगको सेटिङ्गमा नै कालो सूचीमा समावेश गर्ने प्रक्रिया अगाडि नबढाएको बताउने गरेको सापकोटाले जानकारी दिए ।
यसबारेमा बैंकका गुनासो सुन्ने अधिकारी मनोहरराज उप्रेतीलाई सम्पर्क गर्दा यसबारेमा आफूले बुझ्नुपर्ने बताए ।चेक बाउन्सबाट पीडित सापकोटा एक प्रतिनिधि पात्र मात्र हुन् । यस समस्याको निराकरणका लागि सम्बन्धित निकायले आवश्यक कार्वाही नगर्दा उनीजस्ता थुप्रै सर्वसाधारण समस्यामा परेका छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ बमोजिम कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले बैंक तथा वित्तीय संस्थालाई त्यस्तो भुक्तानी नहुने चेक दिएमा समेत यस खण्ड बमोजिम कालोसूचीमा राख्नुपर्नेछ । सो अनुसार नगरेमा बैंक तथा वित्तीय संस्थालाई सोही निर्देशन बमोजिम कारबाही हुने निर्देशनमा उल्लेख छ । बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अनुसार आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिएमा बिगो भराई बिगो बमोजिम जरिवाना र तीन महिनासम्म कैद हुने प्रावधान छ ।

प्रकाशित मिति:May 31, 2023